विजयपुर । काम सम्पन्न भई भुक्तानीसमेत भइसकेको योजनाको काम रोक्न नगरप्रमुख हर्कराज राईले निर्देशन दिएका छन् ।

बिहीबार पत्रचार गर्दै धरान–९ र १० को खहरे खोलामा निर्माण सम्पन्न गरी भुक्तानीसमेत भइसकेको रिटेनिङ वालको काम रोक्न निर्देशन गरेका हुन् । नगरप्रमुख राईले पत्राचार गरेको चलानी नं. ५९१० को पत्रमा ‘धरान–१९ को एलोहिम चर्च उत्तरपट्टिको धरान–९ र १० को सिमानामा पर्ने खहरे खोलामा खोलापट्टि च्यापी रिटेनिङ वाल लगाउने काम भएको स्थलगत अनुगमनबाट देखिएकोले उक्त काम स्थगित गरी सम्पर्क गर्न हुन जानकारी गराइन्छ ।’

नगरप्रमुख राईको पत्रमा स्थलगत अनुगमन गर्दा काम भइरहेको देखिएकोले काम रोकी सम्पर्क गर्न अनुरोध गरिएको छ । तर, अनुगमनसमेत गरेर काम रोक्न पत्राचार गरेको उक्त परियोजनाको काम भने एक महिनाअघि नै सम्पन्न भई भुक्तानीसमेत भइसकेको छ । धरान–१० का अध्यक्ष विवेक राईले वडाको १० लाख रुपैयाँ बजेटमा सञ्चालित योजनाको काम सम्पन्न भई भुक्तानीसमेत भइसकेको बताए । अध्यक्ष राईले भने, ‘रोक्का गर्न पत्राचार गरेको सो योजनाको एक महिनाअघि नै पेमेन्ट भइसकेको छ ।’ 

नगरप्रमुख राईले वडाध्यक्ष विवेक राईलाई कार्यपालिका बैठकमा अभिमत राखेकै आधारमा स्पष्टीकरणसमेत सोधेका थिए । यो काम रोक्न पत्राचार पनि त्यसकै निरन्तरता भएको उनले बताए । नगरका प्रवक्तासमेत रहेका वडा नं. १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले अभिमत राखेकै आधारमा मेयर राईले इगो साधेर काम रोक्न पत्राचार गरेको बताए । वडाध्यक्षलाई स्पष्टीकरण सोध्नु र सम्पन्न योजनाको काम रोक्न पत्राचार गर्नुले इगो साधेको स्पष्ट हुने बताउँदै उनले भने, ‘यसले मेयरमा कति इगो छ भन्ने देखाउँछ ।’

बुधबारको कार्यपालिका बैठकमा नगरप्रमुख राईका स्वकीय सचिव भनिएका सुदर्शन लिम्बूले वडाध्यक्षलाई पत्राचार गरेको विषयमा धरान–१० का अध्यक्ष विवेक राईले फरक मत राखेकै आधार संविधान प्रदत्त मौलिक हकको हनन् गर्दै स्पष्टीकरण सोधे । नेपालको संविधान २०७२ को भाग ३ धारा १७ मा स्वतन्त्रताको हक छ । धारा १७ को उपधारा २ (क) मा विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी व्यवस्था रहेको छ ।

नगरप्रमुख राईले कार्यपालिका बैठकमा अभिमत राखेकै आधारमा विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेका छन् । धरान–१५ का अध्यक्ष नरेश इवारमले मौलिक हकको हनन् हुने गरी स्पष्टीकरण सोधेको र काम रोक्न पनि निर्देशन दिएको बताए । उनले भने, ‘पूर्वाग्रह राखेर पत्राचार गरिएको छ । नगरसभाबाट स्वीकृत योजना मेयरले त के नेपाल सरकारले पनि रोक्न सक्दैन । हचुवाको भरमा निर्देशन गरिएको छ ।’  उनले भने, ‘संविधान पढेको छैन । कानून पढेको छैन । स्थानीय सरकार ऐन पढेको छैन । खोला खोलामा पाइप तान्न मात्रै हिँडेको छ ।’ वडाध्यक्ष इवारमले ब्लाष्टसँगको फोन सम्पर्कमा क्षेत्राधिकारभन्दा बाहिर गएर कार्य गरेकाले कानूनी उपचारमा जाने बताए । उनले भने, ‘हाम्रो अधिकार कुण्ठित गरी अधिकारभन्दा बाहिर गएर काम गर्नुभएको छ । हामी अदालतमा जान्छौँ । अदालतभन्दा ठूलो उहाँ होइन ।’

नगरप्रमुखविरुद्ध वडाध्यक्षहरू
धरानका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू नगरप्रमुखविरुद्ध आन्दोलित भएका छन् । नगरप्रमुखले २४ घण्टाभित्र आफ्ना माग पूरा नगरेमा आन्दोलन गर्ने भएका हुन् ।

आइतबार वडाध्यक्षहरूसहित कार्यपालिका सदस्यले उपमहानगरमा पत्रकार सम्मेलन गर्दै ५ बँुदे माग राखेका छन् । उनीहरूले झुटो आरोप लगाई तथा ऐन विपरीत वडाध्यक्षलाई मागिएको स्पष्टीकरणमा नगर प्रमुख हर्कराज राईले सार्वजनिक रूपमा माफी माग्नु पर्ने, अयोग्य स्वकीय सचिवमार्फत् वडाध्यक्षहरूलाई निर्देशनात्मक पत्राचार गर्न लगाई आफ्नो पदको दुरुपयोग गरेकोमा आत्मालोचनासहित भूल सुधार गर्नुपर्ने माग राखेका छन् ।

यस्तै नगरको लेटरप्याड र आफ्नो पद तथा अधिकारको दुरुपयोग गर्ने स्वकीय सचिव लिम्बूलाई कारबाही गर्नुपर्ने, नगरप्रमुखले स्थगित गरेको कार्यपालिका बैठक तुरुन्त बोलाउन माग राखेका छन् । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको खानेपानी तथा बिजुली प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न वडाध्यक्षहरूले नियमानुसार प्रयोग गर्दै आएको सिफारिस गर्ने अधिकार कार्यान्वयन गर्न माग राखेका छन् ।

सङ्घीय तथा प्रदेश सरकारबाट आउने योजनाको सिफारिस रोक्का गरी धरानको विकासमा अवरोध गरेकाले योजना मागको सिफारिस गर्न माग रोखका छन् । ती माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने उनीहरूले बताएका छन् । पत्रकार सम्मेलनमा वडाध्यक्ष सूर्यकुमार भट्टराईले नगरप्रमुख राईको स्वेच्छाचारिता र अराजकताविरुद्ध कानूनी प्रक्रियामा जाने बताए । उनले भने, ‘हामी माग पूरा नभए अख्तियार र अदालत पनि जान्छौँ ।’

वडाध्यक्षहरूले जारी गरेको विज्ञप्तिमा नगरप्रमुख हर्कराज राईका कारण धरानको प्रतिष्ठामा समेत आँच आएको उल्लेख छ । स्वकीय सचिवले पत्राचार गरेको विषयमा छलफल गरी आगामी दिनमा त्यस्तो कार्य नगर्ने प्रतिबद्धता गर्नुपर्नेमा नगरप्रमुख आफैले बैठक स्थगित गर्ने अनि उल्टै वडाध्यक्षहरूलाई बैठक भाँडेको आरोप लगाई धरान–१० का वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण माग्ने कार्यले सम्पूर्ण जननिर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरूको मानमर्दन भएको उल्लेख छ ।