पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका–३ को निर्माणधिन तुम्बेवा सामुदायिक भवनको काम अन्तिम चरणमा पुगेको छ । २०७७ सालदेखि निर्माण सुरु भएको अढाई तले पक्की सामुदायिक भवनको काम अन्तिम चरणमा पुगेको हो ।
सहरी विकास भवन कार्यालय इलामले भ्याट सहितको १ करोड ५६ लाख ४३ हजार २०४ रुपैयाँ ६२ पैसामा शंकर त्रिशक्ती निर्माण सेवा प्रा.लि.लाई ठेक्का दिएको थियो । दुई वर्ष भित्र भवन निर्माण सक्ने गरी २०७७ असार २६ देखि ठेक्का लिएको थियो । तर निर्धारित समयमा भवनको काम पुरा नहुदा ९ महिना म्याद थप गरेको थियो ।
थपिएको म्याद २०७९ चैत मसान्तमा सकिदैछ । सो अवधि भित्र भवनको काम पुरा हुने सहरी विकास भवन कार्यालय इलामका इन्जिनियर सुरज वस्तीले बताए ।
यता गाउँपालिकाले काम पुरा भएपछि भवनलाई प्रयोगमा ल्याउने जनाएको छ । गाउँपालिका अध्यक्ष बाबुराम खड्काले भवनको काम अन्तिम चरणमा पुगेको भन्दै पुरा भएपछि पालिकाले प्रयोगमा ल्याउने बताएका हुन । निर्माण कम्पन्नीले भवनमा बाँकी रहेको झ्याल, ढोका र रङ्रोगनको काम गर्दै आएको छ ।