धरान । धरानमा याक्खा समुदायको डोकेनी नृत्य (साङ्दाङ्राङमा लाक) प्रशिक्षण कार्यक्रमको समापन भएको छ ।

किरात याक्खा छुम्मा धरान नगरसमितिको आयोजना र धरान उपमहानगरपालिकाको सहयोगमा चैत १८ देखि सुरु भएको प्रशिक्षण शुक्रबार समापन गरिएको हो । छुम्माको केन्द्रीय भवन जोरसखुवामा धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य अनुप देवानको प्रमुख आतिथ्यमा प्रशिक्षण सम्पन्न गरिएको हो ।

धरानका विभिन्न वडाका २० जना सहभागी रहेको प्रशिक्षण कार्यक्रम एक साता सञ्चालन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि देवानले थोरै भए पनि समुदायका मानिसहरूले डोकेनी  नृत्यको अर्थ र महत्वबारे स्पष्ट हुन सकेकोमा खुसी व्यक्त गरे ।

किरात याक्खा छुम्मा धरान नगरअध्यक्ष पञ्चमाया ताम्लीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्खा छुम्माका केन्द्रीय अध्यक्ष लीलबहादुर रोगुलगायत सुनसरी जिल्ला समितिका पदधिकारीहरू तथा जनजाति महासङ्घ र विभिन्न संस्थाका प्रतिनिधिहरू उपस्थित थिए ।

जनजाति  महासङ्घका प्रतिनिधि हेमराज याक्खाले आफ्नो पहिचान र संस्कृतिलाई जोगाइराख्नको लागि यस्ताखाले कार्यक्रम हुनुपर्ने कुरामा जोड दिए ।

छुम्माकी नगर उपाध्यक्ष कविता याक्खाले सञ्चालन गरेको समापन कार्यक्रममा डोकेनी नृत्यसमेत देखाइएको थियो । नगरअध्यक्ष पञ्चमाया ताम्लीले कार्यक्रमको औचित्य र महत्वको बारेमा प्रकाश पारेकी थिइन् ।