इनरुवा । इनरुवामा स्लो–बाइक रेस प्रतियोगिताको आयोजना गरिएको छ । इनरुवा जेसीजले आयोजना गरेको स्लो–बाइक रेस प्रतियोगितामा १ सय बढीले सहभागिता जनाएका थिए ।
सवारीसाधन विस्तारै कुदाउँदा दुर्घटनाको सम्भावना कम हुने सन्देश दिने उद्देश्यका साथ स्लो–बाइक अर्थात् विस्तारै मोटरसाइकल कुदाउने प्रतियोगिता आयोजना गरिएको इनरुवा जेसीजका अध्यक्ष खेमराज थापाले बताए । प्रतिस्पर्धीहरूलाई सय मिटर दूरी कायम गरी प्रतिस्पर्धा गराइएको थियो ।
राउण्ड चरणको प्रतिस्पर्धामा सहभागीमध्ये उत्कृष्ट भएकाहरूलाई फाइनल प्रतिस्पर्धामा सामेल गराई आयोजकले विजेता घोषणा गरेको थियो । रेहान आलम प्रतियोगिताको विजेता बन्न सफल हुँदा किन्कर मेहताले दोस्रो र पर्मानन्द मेहताले तेस्रो स्थान हात पारे ।
इनरुवा बजारमा आयोजित स्लो–बाइक रेस प्रतिस्पर्धाको उद्घाटन तथा पुरस्कार वितरण जिसस सुनसरीका सभापति राजन मेहताले गरेका थिए ।