बिर्तामोड । सञ्चारमाध्यममा सूचना दिएको भन्दै ग्लोबल ओरियन्सका चार जना युवाहरूले एकजना पीडितलाई घरमै गएर धम्की दिएका छन् । मेचीनगर–१३ का नियन राजवंशीले आफूलाई शुक्रबार साँझ घरमै आएर धम्की दिएको बताएका छन् ।
सुरज गिरी, रोहन लिम्बू, आशिष कन्दङ्वा र समिर लिम्बू राजवंशीको घरमै पुगेर धम्की दिएको उनले बताए । ग्लोबल ओरियन्समा आफ्नै साथी आरती सुवदीको विश्वासले आबद्ध हुँदा ठगिएका राजवंशीले सूचना दिएको भन्दै उनलाई बिर्तामोड आएर देखाउन उनीहरूले धम्की दिएका हुन् ।
ओरियन्सले विभिन्न आश्वासन दिएर आफ्नो लगानीसमेत फिर्ता नदिएको गुनासो सञ्चारमाध्यमलाई जानकारी दिएका राजवंशीलाई घरमा गएर चार जना युवाले धम्क्याएका हुन् ।
राजवंशीले मजदुरी गरेर कमाएको पैसा ३६ हजार ५ सय ओरियन्सलाई बुझाए पनि कुनै लाभ नभएको बताएका थिए । उनले तालिम र बस्न, खानका लागि भन्दै दुई पटकमा थप ५ हजारसमेत बुझाएका थिए । पीडित राजवंशीले आफू ओरियन्सबाट ठगिएकाले केही कुरा गर्न चाहन्न भन्दाभन्दै घर पुगेका युवाहरूले धम्क्याएपछि उनले सामाजिक सञ्जालमा त्यसबारे भिडियो बनाई सार्वजनिकसमेत गरेका छन् ।