उपराष्ट्रपति रामसहायप्रसाद यादवले सिरहाको औरही गाउँपालिकामा आयोजित चारदिने चौबिस कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञको आज उद्घाटन गरे । 

समारोहमा उपराष्ट्रपति यादवले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका साथ हुने अश्वमेघ महायज्ञले जीवन र अध्यात्मको महत्व दर्शाइ मानिसमा अनुशासन कायम गर्ने विश्वास व्यक्त गरे । उनले भने, “यस पवित्र भूमिमा गरिएको गायत्री महायज्ञको प्रभावले मानिसको अन्तरहृदयमा प्रेम, एकता, सहयोग, सद्भाव, इमान्दारिता, सदाचार तथा सत्विचार अझ बढ्ने विश्वास लिएको छु ।” 

सिरहा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले गायत्री महायज्ञले मातृशक्तिको महत्व बुझाउने बताए। उनले भने, “महिला शिक्षित हुँदा परिवार, समाज तथा देशमा दिगो शान्ति स्थापना हुन्छ । यस महायज्ञले प्रवाह गर्ने आध्यात्मिक चेतनाले पर्यावरणको महत्वलाई पनि सुदृढ बनाउनेछ ।” 

महायज्ञ आयोजक समितिका संयोजक तथा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले गायत्री मन्त्रोच्चारणसहित हुने महायज्ञले मानिसमा अध्यात्मिक चिन्तन बढ्ने र समाजमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

महायज्ञको पहिलो दिन आज हजारौँको सङ्ख्याका महिलाले कलश यात्रा गरेका थिए । यात्रामा नगर तथा छिमेकी राष्ट्र भारतबाट समेत महिलाको सहभागिता थियो । महायज्ञ चार दिनसम्म सञ्चालन हुनेछ ।