धरान । कोकाहा खानेपानी अभियानका लागि धरानमा च्यारिटी साङ्गीतिक कन्सर्ट गरिएको छ ।

धरान नगरप्रमुख हर्क साम्पाङले श्रमदानमार्फत् आर्थिक सहयोग जुटाएर कोकाहाबाट धरानवासीलाई खानेपानी खुवाउने अभियान थालेका छन् ।

सोही अभियानका लागि पब्लिक हाईस्कुलको प्राङ्गणमा शनिबार साँझ साङ्गीतिक कन्सर्ट आयोजना गरिएको हो । कन्सर्टमा वरिष्ठ गायक दीप श्रेष्ठ, राजेशपायल राई, दीपक लिम्बू, प्रविशा अधिकारी, एकदेव लिम्बू, डिल्ली फोम्बोलगायतले प्रस्तुति दिए । अभियानका लागि उनीहरूले निःशुल्क प्रस्तुति दिएको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टका व्यवस्थापक सौरभ श्रेष्ठले जानकारी दिए । उनका अनुसार कन्सर्टमा साउन्ड सिस्टममा पनि ५० प्रतिशत छुट दिएको छ ।

त्यस्तै स्थानीय ब्यान्डहरूको पनि प्रस्तुति रहेको थियो । त्यस क्रममा नगरप्रमुख साम्पाङले पनि २ वटा गीत प्रस्तुत गरेका थिए भने धरान–२ का वडाध्यक्ष रमेश राईले पनि गीत प्रस्तुत गरे ।

हाल धरान–२० स्थित कोकाहा खोलाबाट पानी ल्याउने तयारी गरिएको छ । अभियानका लागि करिब ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कन्सर्टमा हजारौँको सङ्ख्यामा धरानेहरू सहभागी भएका थिए ।

harka-s

rajeshpayal