बिर्तामोड । ग्लोबल ओरियन्स कम्पनीका प्रतिनिधिले कम्पनीमा आबद्ध गराउनका लागि युवायुवतीलाई पेन्सनसमेत उपलब्ध गराउने आश्वासन दिने गरेको पाइएको छ ।
इलामकी रश्मिन राईले ओरियन्सका कर्मचारीलाई पेन्सन उपलब्ध गराउने भन्दै कम्पनीका प्रतिनिधिले आबद्ध गराएको बताइन् । उनीजस्तै हजारौंलाई ओरियन्सले विभिन्न प्रलोभन देखाउँदै ठगी गरेको छ । कोरियन भाषा अध्ययन गर्दै गरेका, नेपाल आर्मीमा जानका लागि तालिम गर्दै गरेका, प्रहरीमा भर्ती हुने तयारी गरेकादेखि वैदेशिक रोजगारमा जान ठिक्क परेका युवायुवतीसमेतलाई ओरियन्सले ठगी गरेको हो । खासगरी पहाडी तथा विकट जिल्लाका युवायुवतीलाई ओरियन्सले लक्षित गरेको पाइएको छ । ओरियन्सले सिङ्गल स्टारलाई १३ हजार, डब्बल स्टारलाई ४० हजार र ट्रिप्पल स्टारलाई १ लाख २० हजार शुल्क लिने गरेको छ । उनीहरूले विभिन्न रोगको लागि औषधिको काम गर्ने भन्दै ‘फुड सप्लिमेन्ट’ उपलब्ध गराउने र त्यो बिक्री गरे बापत कमिसन प्राप्त हुने आश्वासन दिएका हुन्छन् । सप्लिमेन्ट बिक्री मात्र होइन, आफू मातहतमा अनिवार्य तीनजना सदस्य थप गर्नुपर्ने नियम ओरियन्सको छ । सदस्य थप गरेबापत थपिएका सदस्यले तिर्ने रकमबाट पोइन्ट भ्यालु बढ्ने र त्यहीअनुसार कमाइ हुने आश्वासन ओरियन्सका कर्मचारीले दिने गरेका छन् ।
नयाँ सदस्यले १३ हजार रुपैयाँ तिरेको अवस्थामा उसलाई जोड्ने माथिल्लो सदस्यको पोइन्ट भ्यालु हुँदैन । नयाँ सदस्यले ४० हजारको सदस्यता दिए ३ सय पोइन्ट भ्यालु र १ लाख २० हजारको सदस्यता लिए १ हजार पोइन्ट भ्यालु प्राप्त हुने ओरियन्समै आबद्ध सदस्य अभिषेक राजवंशीले जानकारी दिए ।
३ सय पोइन्ट भ्यालुको ९ सय ६० रुपैयाँ र १ हजार पोइन्ट भ्यालुको २ हजार १ सय ६० रुपैयाँ प्राप्त हुने नियम बनाइएको उनले बताए । राजवंशीका अनुसार पोइन्ट भ्यालुमा उल्लेखित रकम तत्काल पाउन सकिँदैन । ओरियन्सको एपमा रकम जम्मा भएको देखिए पनि सञ्चालकको अनुमति नलिई रकम निकाल्न नसकिने उनले बताए ।
लगानी ६ लाख ४० हजार, कमाइ ११ हजार
ग्लोबल ओरियन्सको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको कार्यालयमा आबद्ध भई ७ महिना काम गरेका झापा बाह्रदशीका राजवंशी थरका युवाले कम्पनीले दिने सबै आश्वासन झुटो भएकाले युवाहरू फसिरहेको बताए । उनले ओरियन्समा आबद्ध हुनलाई सुरुमा ४० हजार बुझाएका थिए । तालिम र होस्टेल बस्न थप रकम तिरेका उनले सात महिनाको अवधिमा ११ हजार पाएको सुनाए । उनले सात महिनामा ७ जना साथीलाई सदस्य बनाएका थिए । सात जना साथीहरूले ओरियन्सको कार्यालयमा ६ लाख ४० हजार बुझाएका उनले जानकारी दिए । ६ लाख ४० हजार तिरेर साथीहरू जोड्दा उनले ११ बजार कमाए पनि त्यहाँ बस्दाको आधा खर्च पनि नपुगेपछि उनीहरू त्यहाँबाट निस्किएका थिए ।
कार्यालयभित्र मनिता नेपालीले हदैसम्मको मानसिक तनाव दिने, पैसा तिर्नलाई र साथीहरू जोड्न ठूलो दबाव दिने गरेको पीडितको भनाइ छ । मेचीनगरका एक युवालाई नेपालीले कुटपिटसमेत गरेको पीडितले जानकारी दिए । नेपालीलगायत ओरियन्सका कर्मचारीले दर्ता हुन लिएको पैसाको कुनै पनि रसिद नदिएको पीडितहरूको गुनासो छ । उनीहरूले तत्काल प्रशासनले ओरियन्सका नाममा भइरहेको बेथिति रोक्नुपर्ने माग राखेका छन् । पीडितहरूका अनुसार तत्कालै प्रशासनले ध्यान नदिए कयौं युवाहरू त्यसमा फस्नेछन् । पीडितका अनुसार ओरियन्समा आबद्ध हुँदा एक जनाले ३ जनालाई अनिवार्य सदस्य बनाउन दबाव दिने गरिएको छ । तीन जनाले फेरि ३–३ थप गर्दै जानुपर्ने नियम रहेको पीडित युवाले जानकारी दिए । ४० हजारवाला सदस्य बनाउन सक्दा बनाउनेले ३ सय (पिभी) पोइन्ट भ्यालु अर्थात् ९ सय ६० रुपैयाँ कमाउनेछन् भने १ लाख ३० हजारवाला सदस्य बनाउँदा १ हजार (पिभी) पोइन्ट भ्यालु अर्थात् २१ सय ६० रुपैयाँ कमाइ हुने बुझिएको छ ।
ओरियन्सका तीन जनालाई प्रहरीद्वारा सोधपुछ
ओरियन्स कम्पनीका प्रतिनिधिले रकम ठगी गरेको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि झापा प्रहरीले त्यसका तीनजना कर्मचारीलाई बोलाएर सोधपुछ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले ओरियन्सका वितरक युवराज अधिकारी, विमल राउत र कर्मचारी पुष्कर पौडेललाई बोलाएर सोधपुछ गरेको हो । प्रहरीसँग ओरियन्सका कर्मचारीले फुड सप्लिमेन्ट मात्र बिक्री गर्ने गरेको बताएका छन् । अधिकारी र राउतले वितरक पदमा कार्यरत भएको भने पनि पौडेलले भने मासिक ११ हजार तलबमा अफिसको काम गर्न बसेको बयान दिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीको निर्देशनमा अनारमनी प्रहरीले ओरियन्सको गतिविधिमाथि निगरानी गर्न सुरु गरेको हो ।
हामी निगरानी गरिरहेका छौंः प्रहरी प्रमुख रेग्मी
झापा प्रहरीले ओरियन्सको गतिविधि निगरानी गरिरहेको जनाएको छ । झापाका एसपी दुर्गाराज रेग्मीले बिर्तामोडका प्रहरी प्रमुख सुरज कार्कीलाई ओरियन्सको काममा निगरानी गर्न निर्देशन दिएको बताए । उनले ठगीमा परेको उजुरी परेपछि मात्र सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बताए । ‘अहिलेसम्म उजुरी परेको छैन, परेपछि हामी एक्सनमा जान्छौँ’ रेग्मीले भने, ‘ओरियन्सका जति कार्यालय छन्, हामीले त्यहाँ कार्यरत कर्मचारीको विवरण सङ्कलन गरेका छौँ । आजै बिर्तामोडका केही कर्मचारीलाई सोधपुछ गरेका छौँ, हामी कोही ठगीमा पर्ने अवस्था आउन दिँदैनौँ ।’