विराटनगर । कोशी नाम खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचानवादी र प्रहरीबिच आज विराटनगरमा  झडप भएको छ ।  

  आन्दोलन गर्ने क्रममा घाइते भई मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव यात्रा गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो ।

भिड नियन्त्रणमा लिन प्रहरी असुली ग्यास र हवाई फाइरिङ गरेको छ । 

पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत् प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबिच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो ।

लाजेहाङकाे शव यात्राका क्रममा विराटनगरमा प्रहरी र पहिचानवादीकाे पुनः झडप - YouTube

लाजेहाङकाे शव यात्राको तयारी, धरान, इटहरी, विराटनगर लगायतका सहरमा शवयात्रा हुने (blastkhabar.com)

टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिए पनि १० गते उनको मृत्यु भएको थियो । त्यसपछि प्रदेश पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए । लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।

यद्यपि सङ्घर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । तर, विभिन्न पक्षको छलफलपछि भने एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरू सहमत भएका छन् । लाजेहाङको शव वीपी प्रतिष्ठान धरानको शव गृहमै रहेको थियो ।

लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरूको कार्यक्रम थियो । सोही क्रममा झडप भएको हो ।