विजयपुर । धरान उपमहानगरपालिकाका प्रायः वडाहरूमा खानेपानीको चरम् अभाव भएको छ । धेरै वडाका स्थानीयले हप्तौंदेखि पानी नआएको बताएका छन् ।
धरान–११ स्थित ऐश्वर्य मार्गका दिलकुमार भूजेलको घरमा चैतदेखि नै पर्याप्त मात्रामा पानी आएको छैन । उनी वैशाखदेखि त झनै पानी आउन छाडेको बताउँछन् । उनी भन्छन्, ‘खानेपानीको चरम् अभाव भयो । नुहाउन, लुगा धुन त परैको कुरा, शौचालय जाने पानी छैन । साथीभाइहरूको शौचालयमा गइरहेको छु ।’
धरान–७ शान्तिपथका स्थानीयको धारामा १० दिनदेखि पानी झरेको छैन । पानी नझरेपछि स्थानीयहरू पानी किनेर प्रयोग गर्न बाध्य भएका छन् । धरान–७ का स्थानीय विमल श्रेष्ठले पानी नआएपछि ३ ट्याङ्कर पानी किनिसकेको बताउँदै भने, ‘श्रमदान पनि गरेका छौँ ? जनप्रतिनिधिलाई भोट पनि दिएका छौँ । तर, हाम्रोमा किन पानी आएन ?’
धरान–१३ का स्थानीय हरि कार्कीले चैत अन्तिमदेखि नै खानेपानी अभाव भएको बताए । उनले गतवर्ष पानी अभाव नभएको बताए । उनले भने, ‘यो वर्ष पानी आउन छाडेपछि के कारणले पानी आउन छाडेको भनेर छलफल पनि गरेका छौँ ।’ उनका अनुसार धरान–१३ का प्रायः बस्तीमा खानेपानीको समस्या रहेको छ । सहजीकरणका लागि समिति बनाएको उनले बताए । धरान–१७, ९, १०, १६ लगायत प्रायः वडाहरूमा खानेपानी अभाव रहेको छ । धरानमा केही दिनअघि वडाध्यक्षहरूले पत्रकारसँगको भेटघाटमा प्रायः वडामा पानी समस्या रहेको बताएका थिए ।
धरान–७ का स्थानीय विमल श्रेष्ठले अन्य वडामा तालिका अनुसार पानी आए पनि शान्तिपथमा नआएको बताए । उनले भने, ‘खानेपानीको स्रोत त अभाव छ नै त्यससँगै धरान खानेपानी व्यवस्थापन बोर्डको व्यवस्थापकीय कमजोरी देखिन्छ ।’
धरानको नगर प्रमुुखमा हर्कराज राई निर्वाचित भएपछि व्यवस्थापकीय कमजोरी समाधान गरी पानीको समस्या कम गर्लान् भन्ने धरानबासीले आशा गरेका थिए । धरानबासीको आशालाई मेटाउन धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका नगरप्रमुख राई नलागेका पनि होइनन् । तर, कतै पानी आउनु वा नआउनुमा वितरण प्रणाली वैज्ञानिक नभएको बुद्धिजीवी डा. राजेन्द्र शर्माले बताए । उनले भने, ‘स्रोतको अभाव छ । वितरण प्रणाली पनि वैज्ञानिक नभएपछि अभाव भइरहेको छ ।’
धरानको खानेपानी समस्या समाधान गर्न नगरप्रमुख राईको प्रयास राम्रो हो तर, पर्याप्त नभएको बताउँदै उनले भने, ‘चराले डढेलो निभाउने प्रयास गरेको जस्तो मात्रै भइरहेको छ ।’ नगरप्रमुख राईको प्रमुख मुद्दा पनि खानेपानी समस्या समाधान रहेको थियो । नगरप्रमुख राईले निर्वाचित हुनुअघिको आन्दोलनमा र निर्वाचनका क्रममा एसियाली विकास बैङ्कको ऋण अनुदानमा सञ्चालित खानेपानी परियोनामा भ्रष्टाचार भएको आरोप लगाउँदै आएका थिए । उनको मुख्य मुद्दा छानबिन गरी भ्रष्टाचारीलाई कारबाही गर्ने थियो । तर, उनी निर्वाचित भएको वर्षदिन पुग्दा पनि छानबिन सुरु गरेका छैनन् । बुद्धिजीवी डा. शर्माले नगरप्रमुख राईले आफ्नो मुद्दा भुल्दै गएको बताए । उनले एयियाली विकास बैङ्कको ऋण अनुदानमा सञ्चालित परियोजनाको छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘खानेपानी समस्या समाधान गर्न पहिले एसियाली विकास बैङ्कद्वारा सञ्चालित खानेपानी परियोजनाकोृ छानबिन गर्नुपर्छ ।’