धरान । नेपाल विद्युत् प्राधिकरणले पूर्वसूचनाविनै विद्युत् कटौती गरेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरू आन्दोलित भएका छन् ।
शुक्रबार मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरका प्रमुख उमेशकुमार झालाई ज्ञापन–पत्र बुझाउँदै समन्वय गरिदिन आग्रह गरेका थिए । तर, विद्युत् अनियमित भएपछि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घलगायत संस्थाहरूमा आबद्ध उद्योगीहरू आन्दोलित भएका हुन् । प्राधिकरणले औद्योगिक क्षेत्रमा बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि १० बजेसम्म विद्युत् कटौती गर्दै आएको छ ।
मोरङ व्यापार सङ्घको अगुवाइमा आइतबार विद्युत् प्राधिकरण दुहबी ग्रिडमा उद्योगीहरूले धर्ना दिएका छन् । सङ्घका अध्यक्ष नवीन रिजालका अनुसार नियमित बिजुली दिन नसके लोडसेडिङको तालिका सार्वजनिक गर्न माग गरिएको छ । विद्युत् अनियमित रूपमा कटौती हुँदा उद्योगको उत्पादनमा ह्राससँगै कच्चा पदार्थ बिग्रिने अध्यक्ष रिजालले बताए । ग्रिडका प्रमुख रोशन खड्कालाई उद्योगीहरूले ज्ञापन–पत्र बुझाए ।
यता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विद्युत् आपूर्तिको समस्या अल्पकालीन भएको बताए । उनले १५ दिनभित्र यो समस्या समाधान हुने दाबी गरे । उद्योगीको गुनासोलाई सम्बोधन गर्ने क्रममा उनले यस वर्ष हिउँ र पानी नपर्दा जलविद्युत् आयोजनाको उत्पादनमा ३० प्रतिशतले गिरावट आएको बताए । त्यस्तै धनुषाको ढल्केबर सवस्टेसनबाट थप विद्युत् पूर्वतर्फ पठाउन प्रसारण लाइनको क्षमताले नधानेकाले पनि समस्या आएको उनको भनाइ छ ।