विजयपुर । धरान उपमहानगरका प्राय वडाहरूमा हाल खानेपानीको चरम अभाव छ । खानेपानीको चरम अभाव भएको समयमा सामाजिक सञ्जाल तथा युट्युबमा ‘ट्याङ्कीबाट बाहिर नालामा पानी फ्याकेको’ विषय भाइरल बन्यो ।
खानेपानी चरम अभावका बेला ट्याङ्कीबाट खानेपानी फालेको भिडियो भाइरल बनेपछि साँच्चिकै पानी बाहिर फालिएको हो त ? धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशकलाई सोध्यौ । कार्यकारी निर्देशक राजु पोखरेलले ट्याङ्की सफा गर्न धमिलो पानी फालिएको बताए । शनिबार असिनासहित वर्षा भएको थियो ।
निर्देशक पोखरेलका अनुसार पानी परेपछि धमिलो पानी आएको थियो । उनले धमिलो पानी कटाएर फालेको बताए । उनले भने, ‘उपभोक्तालाई धमिलो पानी पठाउनु भएन । धमिलो पानी कटाई ट्याङ्ककी धमिलो पानी फालेको हो ।’ उनले थपे, ‘ट्याङ्की सफा गर्ने निरन्तर प्रक्रिया हो ।’सामाजिक सञ्जालमा अर्कै अफवाह फैलिएको छ नि भन्ने जिज्ञासा निर्देशक पोखरेलले भने, ‘धरान अवस्था तपाई थाहा नै छ त ।’
एकातिर पानीको हाहाकार र अर्कातिर नालामा पानी फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बने पछि धरान नगर प्रमुख हर्कराज राईलाई असफल बनाउन राजनीतिक दलका नेता तथा वडाध्यक्षहरू लागेको भन्दै आलोचना गरियो ।
नगर प्रमुख हर्कराज राईलाई असफल र वद्नाम गर्न गरेको रणनीति भनेर प्रहार गरियो , यति मात्रै होइन सामाजिक सञ्जालमा बोर्डकै कर्मचारीहरूका पनि आलोचना भयो । कर्मचारीको व्यवस्थापकीय कमजोरी भनियो ।
व्यवस्थापकीय कमजोरी नै थियो भने बोर्डको नेतृत्वकर्ता भएकाले नगरप्रमुख राईले नै लिनुपर्थ्यो । र, यस्ता अनधिकृत र विवादित विषयलाई धरान खानेपानी बोर्डको नेतृत्व सम्हालेका राईले सत्य तथ्य बुझी वास्तविकता सार्वजनिक गर्नु पर्थ्यो । तर, राईले बलेको आगोमा अझै तेल हाले ।
नगर प्रमुख राईले सामाजिक सञ्जाल फेसबुकमा पानी नालामा फाल्ने कर्मचारीलाई स्पष्टीकरण सोध्ने भन्दै पोस्ट गरे । नगर प्रमुख राईको फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलोशन’ मा लेखेका छन् ‘पानी बाहिर नालामा फालिएको भन्ने बारे म सम्बन्धित कर्मचारीबाट स्पष्टीकरण माग्नेछु । गाडीको त कर्मचारी निकाल्दिसकेन ।’
तर नगर प्रमुख राईले समाजमा भ्रम फैलाउने कार्य गर्नु हुँदैन थियो । राई आफैले कर्मचारीलाई स्पष्टीकरण सोध्ने पोस्ट गरे पछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि विस्वास गरे । अफवाह फैलियो । विभिन्न व्यक्ति माथि प्रहार गरियो । अवास्तविक कुरा फैलाउनु पटक्कै राम्रो होइन । यस्ता कुराले समाजलाई कतातिर लगिरहेको छ ?