पाँचथर । पाँचथर, ताप्लेजुङ र तेह्रथुममा पर्ने ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत आयोजना अन्योलमा परेको छ । पाँचथरको कुम्मायक र तेह्रथुमको छथर गाउँपालिकाको लुवुघाटमा निर्माण हुने ७६२ मेगावाटको आयोजना चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना)ले बनाउने भनिएको आयोजना फिर्ता लिइने भएपछि अन्योलमा परेको हो ।
चीन र नेपालको लगानीमा निर्माण हुने भनिएको आयोजनाको काममा कुनै प्रगति नभएपछि फिर्ता लिन लागिएको लगानी बोर्डले जनाएको छ । जसबाट आयोजना क्षेत्रका पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका नागरिक अन्योलमा परेका छन ।
निर्माणधिन योजना अन्योलमा परेको भन्दै तमोर जलाशययुक्त जलविद्युत सरोकार तथा समन्वय समितिले पाँचथरको सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै योजनालाई गति दिन आग्रह गरेको छ । नेपाल पत्रकार महासंघको हलमा भएको पत्रकार सम्मेलनमा तीन जिल्लाको मात्रै नभई प्रदेश सरकारको गौरवको आयोजना एचआईडीसीएलले लगानी बोर्डलाई सम्झौता तोड्न गरेको आग्रहले नागरिकलाई चिन्तित बनाएको सरोकार समिति कुम्मायक अध्यक्ष नरबहादुर खड्काले बताए ।
तमोरमा चाइना पावर कम्पनीले सम्भाव्यता अध्यायन, निर्माणस्थलको सडक स्थानन्त्रण, डुवान क्षेत्रको जग्गा कारोबार रोक्का गर्ने काम अघि बढाएको थियो । तर सरकारको प्रतिनिधि संस्था लगानी बोर्डले आयोजना स्थलका नागरिक र देशकै विकासमा असर पुर्याउँने काम गर्न खोजेको खड्काको दावी छ । योजना निरन्तरताको पाँचथरबाट प्रतिनिधि मण्डल सहितको टोलिले लगानी बोर्ड, एचआईडीसीएल र सरकार समक्ष चाँडै दबाव सृर्जना गर्ने जनाएको छ ।