देउराली । धरानका नगरप्रमुख  हर्क साम्पाङले साम्पाङले पानीपियामा 'सीमा प्रारम्भ'को बोर्ड  लागापछि पुनः सुरु भएको इटहरी र धरान दुई पालिका बिचको सीमा विवाद फेरी चर्किने देखिएको छ ।

 आइतबार अपराह्नमा नगरप्रमुख साम्पाङको निर्देशनमा कर्मचारी र नगरप्रमुखको टोलीको उपस्थितिमा लगाएको उक्त बोर्ड राती  राष्ट्रिय युवा संघ  इटहरीले हटाएपछि विवाद बढेको हो ।  संघ  इटहरीले विवादित अवस्थामा इटहरीका जनप्रतिनिधिसँग समन्वयन नगरी बोर्ड लगाउनु हस्तक्षेपकारी मनसाय भएको भन्दै उक्त बोर्ड हटाएको थियो । 

बोर्ड हटाएसँगै धरानका नगर प्रमुख साम्पाङले सामाजिक सञ्जालबाट बोर्ड हटाउनेलाई कारबाही गरिने बताएका थिए । भने उनले सामाजिक सञ्जालमा युवा संघ धरानको धारण के हो रु भनी प्रश्न गरेका थिए । 

सामाजिक सञ्जालमा भएको उनको उक्त पोस्टले विवाद समाधान गर्ने भन्दा पनि विवादलाई झन् चर्काउन खोजेको भन्दै धेरैले  प्रतिक्रिया दिइरहेका छन् । 

विवाद बढ्दै गएसँगै सोमबार इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले वार्ता मार्फत दुई उपमहानगरपालिका बिचको सीमा विवाद समाधान गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले २०१० साल भन्दा अगाडिबाट इटहरी धरानको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न भन्दै सीमा जस्तो संवेदनशील र गम्भीर विषयलाई संवाद, सहमति र सहकार्य गर्न आफू तयार रहेको बताए ।

उनले दुई पालिका बिचको सीमा विवाद राजनैतिक विषय भएकाले यसलाई सङ्घीय सरकारका निकायबाट हल खोज्नुपर्ने बताए।


"धरान र इटहरीका नागरिकका बिचमा कुनै किसिमको कलह, द्वन्द्व, द्वेष, बैमनश्यता, मतभेद सिर्जना हुने गतिविधि नगर्नका निम्ति सम्बन्धित सबैमा अनुरोध गर्दछु ।"  विज्ञप्ति मार्फत उनले भनेका छन् , " दशकौँ अगाडी देखी प्रहरी प्रशासन र सामुदायिक वन उपभोक्ता समितिहरूको क्षेत्राधिकार र नागरिक स्तरको सम्बन्धमा दरार आउन नदिनकालागि दुवै उपमहानगरपालिकाको नेतृत्वले आपसी समझदारी र समन्वयमा सीमा जस्तो संवेदनशील विषयमा आवश्यक कदम चाल्दा प्रभावकारी हुनेछ। त्यसै गरी दुवै उपमहानगरपालिका बिच द्वन्द्व सिर्जना नभई स्थायी समाधान हुने परिस्थिति बन्नेछ भन्ने ब्यहोरा सम्बन्धित सरोकारवालाहरूमा आग्रह र अनुरोध गर्न चाहन्छु ।"

इटहरी उपमहानगर वडा नम्बर २० का अध्यक्ष मणिराम श्रेष्ठले भोगाधिकारका आधारमा तत्कालीन हाँसपोसा गाउँ विकास समितिले उपभोग गर्दै आएको र सिमाना कहाँबाट भन्ने प्रस्ट नरहेको  बताएका छन् ।

यता, धरानका नगरप्रमुख साम्पाङले भने आफ्नो साध सिमाना घेराबार गर्ने अधिकार भएको भन्दै  आफ्नो घेराबार गर्ने अधिकार भएको बताएका छन् । उनले उक्त क्षेत्र धरानको आधिकारिक भएको बताउँदै उक्त स्थानमा राखेको बोर्ड निकाल्ने युवा संघ इटहरीलाई कारबाहीको माग गर्दै  जिल्ला प्रशासन कार्यालय,  इटहरी उपमहानगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय इटहरीलाई पत्र पठाएका छन् ।