भद्रपुर । उद्योगी तथा समाजसेवी दीनबन्धु गोयल बन्धुहरूले निर्माण गरिदिएको १४ वटा घर आइतबार सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ ।

झापाको भद्रपुर नगरपालिकाको ६ नं. वडा भतियाबाडीमा निम्न आय भएका स्थानीय राजवंशी तथा माझी समुदायका १४ जनालाई गोयल परिवारको लगानीमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।  स्वर्गीय दाजु ओमप्रकाश गोयलको स्मृतिमा लगभग एक करोडको लागतमा १४ घर निर्माण भएको लगानीकर्ता दीनबन्धु गोयलले बताए । उनीहरूले खरिद गरेकै जग्गामा शौचालयसहित इँटा, सिमेन्टको पर्खाल र ट्रस जस्तापाता लगाएको तीनकोठे पक्की घर बनाइदिएको उनले बताए ।

हस्तान्तरण गरिएको घरलाई रेखदेख गर्ने र दुरुपयोग नगर्न उनले आग्रह गरे । बनाइएको घरमा ४३ एम.एम.को बाक्लो जस्तापाता र फलामे ढोका तथा झ्यालमा ग्रील प्रयोग भएको ६ नं.वडाध्यक्ष रतिया राजवंशीले जानकारी दिए । करिब १० कठ्ठा क्षेत्रफलमा घर निर्माण गरिएको छ । नगरपालिकाको समन्वयमा ती परिवार छनौट गरिएको हो ।

ओम गोयल कोलोनी मार्ग नामकरण गरिएको सो स्थलमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोपाल बस्नेत, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीसहितले नगदसहित घर हस्तान्तरण प्रमाण–पत्र प्रदान गर्दै शिलालेख र कोलोनी मार्गको उद्घाटन गरेका थिए । यसरी घर पाउनेहरूमा साम माझी, राजु माझी, रमेश माझी, फूलकुुमारी माझी, भेलासरी राजवंशी, विमला माझी, सरिता राजवंशी, सेवानन्द राजवंशी, रविनकुमार माझी, सर्मिला राजवंशी, सुमित्रा माझी, निर्मला राजवंशी, लखन माझी र प्रमिलहिरन राजवंशी रहेका छन् । 

कार्यक्रममा बजारु माझी, राजो माझी, विनिता राजवंशी, सुमित्रादेवी माझी, मीना माझी र भेलासरी राजवंशीलाई नगद र पोसाकसहित ज्येष्ठ नागरिक सम्मान गरिएको थियो । ६ नं. वडाध्यक्ष रतिया राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा दातालाई सम्मानसमेत गरिएको थियो ।