सुनसरी । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–४ कोसी कटानमा पर्ने बाटो मर्मत नहुँदा जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन् ।
भण्टाबारी–इनरुवा सडक–खण्डमा पर्ने बाटो समय–समयमा मर्मतसम्भार गरिए पनि सो बाटोमा दिनहुँजसो दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । कल्भर्टमाथिबाट गरिने कालोपत्रे भत्किएर बनेको खाल्डाखुल्डी नपुरिँदा र स्तरोन्नति नहुँदा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्दै आएको कोसी गाउँपालिका वडा नम्बर ४ का स्थानीय गफुर मन्सुरी बताउँछन् । पटक–पटक ध्यानाकर्षण गराउँदासमेत समस्या समाधान हुने गरी बाटो मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उनको भनाइ छ । वर्षौंदेखि यस्तो समस्या यथावत् भए पनि सम्बन्धित निकायले ध्यान नदिएको मन्सुरीको गुनासो छ ।
भण्टाबारी–इनरुवा सडक–खण्डमा पर्ने कोसी कटान क्षेत्रको बाटोको अवस्था दयनीय बन्दै जाँदासमेत सम्बन्धित निकायले कहिलेकाहीँ खाल्डाखुल्डी भर्ने काम मात्र गरेको तर, दीर्घकालीन समस्याको समाधानतर्फ चासो नदिएको अर्का स्थानीय अनिलकुमार यादवले बताए ।
बाटो मर्मत गर्न ताकेता
कोसी कटान क्षेत्रको बाटो मर्मत नगरेको भन्दै कोसी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले सडक डिभिजन कार्यालय विराटनगरका प्रमुखसहित सुनसरीका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । दुर्घटनाग्रस्त क्षेत्रको रूपमा चिनिएको कोसी कटान क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मङ्गलबार बिहान अध्यक्ष अन्सारीले विगत एक महिनाको अवधिमा सो क्षेत्रमा १६ वटा दुर्घटना भएको जानकारी गराए ।
मुख्य लोकमार्गमै पर्ने सडक–खण्डमा हरेक दिनजसो दुर्घटना हुनु सामान्य कुरा नभएको हुँदा सो समस्या यथाशीघ्र समाधानमा आफ्नो पूर्ण समर्थन रहने अध्यक्ष अन्सारीले बताए । स्थलगत बाटो निरीक्षण गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोसी कटान क्षेत्र अन्तर्गत पर्ने बाटोमा यात्रुले जोखिमपूर्ण यात्रा गरिरहेको देखिएको हुँदा तत्काल सहज तवरबाट यात्रा गर्ने व्यवस्था मिलाउन सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिएकी छन् ।
यता सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख सुदर्शन कार्कीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत कोसी कटान क्षेत्रको १५ मिटर क्षेत्रमा बाटो लेभल नमिल्दा समस्या भएको बताए । उनले तत्काल अस्थायी रूपमा दुवैतिर साइन बोर्ड राख्दै एकहप्ताभित्र सो क्षेत्रमा लेभल मिलाएर बाटो मर्मत गरिने बताए ।
पटक–पटक मर्मतसम्भार गरिए पनि दीर्घकालीन समस्या समाधान किन नभएको भन्ने जिज्ञासामा उनले भने, ‘हामीले गर्ने भनेको मर्मत हो, यो नयाँ कन्स्ट्रक्सन होइन । यहाँको समस्या समाधान गर्न पुल बनाउनुपर्छ । पुल बनाउनको लागि ठेक्का लगाए पनि ठेकेदारले काम नगरेपछि नयाँ ठेक्का लगाउने कि के गर्ने भन्ने बारे छलफल भइरहेको बताए ।