धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको वडा नं.६ सिधुवा वजारमा चण्डीपुर्णेको अवसरमा आगामी वैसाख २२ गते रगरगे मेला तथा सिधुवा रन–०८० खुला दौड तथा धान नाच प्रतियोगिता हुने भएको छ । 

चण्डीपुर्णे रगरगे मेला मूल आयोजक समितिले वुधवार पत्रकार सम्मेलन गरेर एक दिने मेलासंगै सिधुवा रन–०८० नाम दिइएको महिला र पुरुषको छुट्टाछुट्टै खुला दौड तथा धान नाच प्रतियोगिता समेत हुने जानकारी दिइएको थियो । 

छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा वडा नं.६ का वडाध्यक्ष दिपक गुरुङले रगरगे मेला तथा सिधुवा रन–०८० का वारेमा जानकारी गराएका थिए । ‘चण्डी पुर्णे रगरगे मेला जगाउँ, स्वास्थ्यको लागि दौड्औं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको मेला तथा दौड प्रतियोगितामा विभागीय खेलाडीहरुले भने भाग लिन पाउने छैन्न । 

वडाध्यक्ष गुरुङ्गका अनुसार खुला पुरुष १० किलो मिटर दौड प्रतियोगिता र महिलाको लागि ७ किलोमिटर दुरीमा प्रतियोगिता हुने भएको छ । पुरुष खुला तर्फको १० किलो मिटर दुरीको दौड प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, २ सय, २५ रुपयाँ नगद, मेडल र प्रमाण पत्र रहेको छ । त्यसैगरी द्धितिय हुनेलाई २० हजार, १ सय, १५ रुपयाँ नगद, मेडल र प्रमाणपत्र रहेको छ भने तृतिय हुनेलाई १५ हजार, १ सय, १५ रुपयाँ नगद, मेडल र प्रमाण पत्र रहेको छ । 

प्रतियोगितामा प्रथम हुनेलाई प्रदान गरिने नगद पुरस्कार सिधुवा वजारका समाजसेवी यूवा लक्ष्मी नारयण श्रेष्ठ, द्धितिय पुरस्कार नुडू शेर्पा र तृतिय पुरस्कार सिधुवा वजार व्यवस्थापन समितिका उपाध्यक्ष एवं यूवा समाजसेवी इन्द्र गुरुङ्गले प्रायोजन गरेको आयोजकले जनाएको छ । त्यसैगरी ७ किलो मिटर खुला महिला दौड तर्फ प्रथम हुनेलाई १५ हजार, १ सय, १५, द्धितिय हुनेलाई १० हजार, १ सय, १५ र तृतिय हुनेलाई ५ हजार, १५ रुपयाँ नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

खुला महिला दौड प्रतियोगितामा विजयी हुनेलाई प्रदान गरिने नगद पुरस्कारहरु मध्ये प्रथम हुनेलाई सिधुवा वजार व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार श्रेष्ठले सौजन्य गरेका छन् । त्यसैगरी द्धितिय पुरस्कार समाजसेवी कमल तामाङ र तृतिय पुरस्कार खुलालले सौजन्य गरेको आयोजकले जनाएको छ । पुरुष तथा महिला खुला दौड प्रतियोगितामा भाग लिने प्रतियोगीहरुले यहि वैसाख २० गतेसम्ममा नगद ५ सय तिरेर आफ्नो नाम दर्ता गर्न सकिने छ । 

त्यसैगरी लिम्वु जातिको धान नाच प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, १ सय, १५ रुपयाँ नगद सहित प्माण पत्र प्रदान गरिने छ । धानमा प्रथम हुनेले पाउने २० हजार, १ सय, १५ नगद पुरस्कार पुर्खोली घर तेह्रथुमका आङ्गदिम भई हाल प्रभासमा रहेको मान वहादुर लिम्वुले सौजन्य गरेको आयोजकले जनाएको छ । त्यसैगरी द्धितिय हुनेलाई नगद १५ हजार, १ सय,१५ रुपयाँ रहेको छ भने उक्त पुरस्कारको सौजन्य होटल एशोसिएशन सिधुवा वजारले गरेको छ । तृतिय पुरस्कार १० हजार, १ सय, १५ रुपयाँ हिलटप होटल सिधुवा वजारका संचालक प्रकास श्रेष्ठले सौजन्य गरेका छन् । 

प्रथम सिधुवारन–०८० प्रथम खुला दौड प्रतियोगिता सिधुवा वजार स्थित् हिलटप होटलको वजार चोक देखि तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा पर्ने चपरीचोकसम्मलाई कायम गरिएको आयोजक समितिका सदस्य शिवकुमार श्रेष्ठले बताए । वि.सं.२०४०÷०४५ साल तिर तत्कालिन परेवादिन गाविसका प्रधानपञ्च बमवहादुर तुम्वाहाम्फेले चण्डीपुर्णेको अवसर पारेर रगरगे मेला आयोजना गरिएको वडाध्यक्ष दिपक गुरुङले बताए । 

उवेला मेलामा स्थानियले चिउरी विक्रि गर्न ल्याउने गरिएको पनि अध्यक्ष गुरुङले सुनाए । द्धन्द्धकाल शुरु हुनु भन्दा अगाडीसम्म रगरगे मेला लागे पनि द्धन्द्ध शुरु भएपछि स्थगित भएको थियो । पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुव्वाले पर्यटन प्रवद्र्धन गर्न र छथर जोरपाटीको पुरानो पहिचान पुनः स्थापित गर्न रगरगे मेला आयोजना गरिएको वताए । 

छथरजोरपाटी गाउँपालिका वडा नं.६ कावडाध्यक्षदिपक गुरुङको अध्यक्षतमा सम्पन्न पत्रकार सम्मेलनमा प्रतियोगिताका प्रायोजकहरु अर्जुन घिमिरे, शिवकुमार श्रेष्ठ, लक्ष्मी नारयण श्रेष्ठ, नुडु शेर्पा, ढुण्डीराज थापा लगायतको उपस्थिति रहेको थियो ।