इटहरी । इटहरी उपमहानगरपालिकाले अबदेखि अनलाइनबाटै घरको नक्सा पास गर्नेे भएको छ ।

छिटोछरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।

विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाइल बोकेर दौडिरहन नपर्ने नगरप्रमुख पौडेलको भनाइ छ । उनका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्रहरू सुरक्षित रहने तथा नगरलाई पनि तथ्याङ्क राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुनेछ ।

समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गराउँदै इटहरीलाई स्मार्ट सहरको रूपमा विकास गर्ने योजना अन्तर्गत अनलाइन नक्सा पास प्रणाली थालिएको नगरप्रमुख पौडेलको भनाइ छ । पहिलो पटक इटहरीबाट अनलाइनबाटै नक्सा पास गर्ने इटहरी–१ का आशिष कार्कीलाई सम्मानसमेत गरिएको छ ।

यो प्रणालीअनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाण–पत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने इञ्जिनियर कैलाश तिम्सिनाको भनाइ छ । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बहानाबाजीलाई निरुत्साहित गराउने उपमहानगरपालिकाको विश्वास छ ।