भद्रपुर । एक सञ्चारकर्मीसहित ७ जना पूर्व अध्यक्षहरूलाई सम्मान गर्दै झापा उद्योग वाणिज्य सङ्घको ५४ औँ साधारणसभा तथा २४ औँ अधिवेशन सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा बिहीबार भद्रपुरमा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा झापा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षहरू महावीरप्रसाद गोयल, ओमप्रकाश सरावगी, मदनलाल गुप्ता, राजकुमार अग्रवाल, नारायण ढुङ्गाना, उमेश डालमिया र राजेन्द्र घिमिरेलाई दोसल्लासहित सम्मान–पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी पत्रकारिताको माध्यमबाट संस्थाको गतिविधिलाई निष्पक्ष प्रकाशन गरेर पुर्याएको सेवाको मूल्याङ्कन गर्दै पत्रकार राजबाबु शङ्करलाई नगदसहितले सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वैद्य, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, महासङ्घका केन्द्रीय सदस्यहरू उमेश डालमिया र नरेन्द्रकुमार खड्का, उद्योग वाणिज्य सङ्घ कीर्तिपुरकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, झापाका पूर्व अध्यक्ष राजेन्द्र घिमिरेलगायतले शुभकामना दिए ।
अध्यक्ष नवराज पनेरू राजुको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घका विशिष्ट सदस्य अजय साहेवालाले स्वागत मन्तव्य र महासचिव पङ्कजकुमार शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । सङ्घको यो वर्ष निर्वाचन वर्ष पनि भएकोले आगामी वैशाख २८ गते निर्वाचनको कार्यक्रम तय भएको सङ्घका प्रेस सल्लाहकार रोहित काफ्लेले जानकारी दिए ।