धरान । झापाको शिवसताक्षी नगरपालिकामा एकल महिलाको घरनजिकै शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयले हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान अगाडि बढाएको प्रवक्ता एवम् डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सोही नगरपालिका–६ की ६३ वर्षीया एकल महिला शान्तिमाया प्रधानको घरनजिकै फिलुङ्गेको नलले छोपिएको अवस्थामा बिहीबार साँझ शव फेला परेको उनले जानकारी दिए । छिमेकीले पराल तान्न जाने क्रममा दुर्गन्ध आएपछि वरपर हेर्दा छोपेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीका अनुसार ती महिला मङ्गलबारदेखि हराइरहेकी थिइन् । घरमा एक्लै बस्दै आइरहेकी उनलाई घरबाट घिसार्दै लगेको जस्तो देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । जनप्रतिनिधिहरूले घटना शङ्कास्पद रहेकाले गम्भीर भई अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् ।