मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार विराटनगरमा आयोजित नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याङ्कनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । नेपालले २०१५ मै दिगो विकास लक्ष्य, अवस्था र मार्गचित्र तयार गरी त्यसै अनुरूपका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्दै आइरहेको स्मरण गराए ।
उनले मार्गचित्रले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यका १ सय ६९ वटा परिमाणात्मक लक्ष्यहरू अन्तर्गत सबै क्षेत्रमा गरी ४ सय ९४ वटा सूचक पहिचान गरेको जानकारी गराए ।
सन् २०१५ को सेप्टेम्बरमा विश्वका नेताहरूले संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमार्फत् अनुमोदन गरेको यो एजेन्डा अन्तर्गत विश्वका १ सय ९३ देशहरूले विभिन्न १७ वटा लक्ष्यमार्फत् सन् २०३० सम्ममा गरिबी अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेका मुख्यमन्त्री कार्कीले स्पष्ट पारे ।
उनले दिगो विकास लक्ष्यले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारीका अवसरसहित कैयन् सामाजिक आवश्यकताहरूलाई सम्बोधन गर्नुका साथै असमानतासँग लड्दै कसैलाई पछाडि नछोड्ने भन्ने कुरालाई सुनिश्चित गरेको दाबी गरे ।
दिगो विकास लक्ष्य समग्रमा सामाजिक, वातावरण, आर्थिक र कानून तथा शासकीय स्तम्भ गरी चार समूहमा विभाजित रहेको स्पष्ट पारे । कार्यक्रममा सङ्घीय सचिवालयका सदस्य डा. रोजराज पाण्डेले नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन अवस्था अध्ययन तथा मूल्याङ्कनसम्बन्धी जानकारी गराएका थिए ।