भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री प्रहरीको फरार सूचिमा रहँदा पूर्वगृहमन्त्रीको नाम समेत मुछिएको छ । 

प्रहरीले पक्राउ पुर्जी पाएसँगै एमाले सचिव टोपबहादुर रायमाझी फरार सूचिमा छन् । यही प्रकरणमा प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको पनि नाम लिएका छन् । 

२०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आए लगत्तै खाँणले सचिवका रूपमा पाण्डेलाई ल्याएका थिए । त्यसअघि उनी भूमि व्यवस्था, सहरी विकास तथा गरिबी निवारण मन्त्रालयमा सचिव थिए ।

गृह मन्त्रालय हुँदै पछिल्लो पटक उपराष्ट्रपति कार्यालय पुगेका सचिव पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन् । गृहमन्त्रीमा बहाल रहँदा हुँदा खाँण पटक–पटक झापा आएका थिए उनी कहिले शरणार्थी समस्याको कुरामा, कहिले  दुलाल–भण्डारीको टोलीमा, त कहिले भेला–बैठकमा  झापा आएका भए पनि उक्त गिरोहसँगको काममा हो या  होइन भन्न नसकिन नभए झापा प्रशासनका अधिकारीले बताएका छन् । 

यो लहरो तान्दा अझै एक दर्जन ‘हाई प्रोफाइल’ तानिने अनुसन्धानकर्मी अधिकारीको भनाइ छ । यता, प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर बुधबार जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार भएका हुन् । रायमाझी सम्पर्क विहीन बनेपछि प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो । रायमाझीका बाबुछोरा नै शरणार्थी ठगी प्रकरणमा मुछिएका छन् ।