वराहक्षेत्र । शिक्षा क्षेत्र सुधारको लागि विद्यालयलाई एक–अर्कामा गाभ्ने अवधारणा सङ्घीय सरकारले बनाएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले बताएका छन् ।
आइतबार वराहक्षेत्रको वडा नं. २ स्थित वराह आदर्श क्याम्पसको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राईले त्यस्तो बताएका हुन् । हिजोका दिनमा आएको लहरले टोल–टोलमा विद्यालय खोलिए पनि शिक्षक दरबन्दी र आर्थिक अभावलगायतका समस्याले शैक्षिक गुणस्तरमा कमी आएकोले पनि समायोजन आवश्यक रहेको मन्त्री राईले बताए । मन्त्री राईले क्याम्पसको भवन निर्माणको लागि सङ्घीय बजेट र क्याम्पसको जग्गा भोगाधिकारको लागि मन्त्रीस्तरीय निर्णय गराउन आफूले सक्दो पहल गर्ने बताए । उनले क्याम्पस प्रशासनले तुरुन्त कागजी प्रक्रिया पूरा गर्न आग्रह गरे ।
कार्यक्रममा वराह क्याम्पस व्यवस्थापन समिति अध्यक्ष चन्द्र थापा मगरले क्याम्पसको भूमि स्वामित्व र भवन निर्माणको लागि डेढ करोड रुपैयाँको माग गरेका थिए । क्याम्पस २०६७ साल मा स्थापना भएको हो । पुनर्वासस्थित १ बिघा ऐलानी जग्गा चर्चेको क्याम्पसको गुरुयोजना बनाएर जग्गाको कानूनी अधिकारको लागि वन विभागमा कागज दर्ता गरिएको व्यवस्थापन समिति अध्यक्ष चन्द्र थापा मगरले जानकारी दिए । दुई तला, आठ कोठा रहेको क्याम्पसमा हाल बिबिएस सङ्कायको पठन–पाठन भइरहेको छ ।