विराटनगर । कोशी प्रदेश सरकारले चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर आइतबार इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरेको हो । यसरी पुरस्कार पाउनेहरूमा सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही) इलामका सटेन्द्रकुमार जवेगु र सोमनाथ अधिकारी, झापाकी अम्विका भण्डारी छन् । उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार प्रदान गरे ।

पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासमा पत्रकारिता क्षेत्रको भूमिका महŒवपूर्ण रहेको बताए । उनले आमसञ्चार माध्यममा आउने समाचारमा एकरूपमता हुनुपर्ने बताए । ‘एउटै घटनाका बारेमा जतिवटा मिडिया हे¥यो उति किसिमका समाचार आएका हुन्छन्, यस्ता कुराले जनतामा भ्रम सिर्जना गर्छ, त्यसैले विचारमा आफ्नो मत जाहेर गरे पनि समाचारमा एकरूपता हुनुपर्छ’ –उनले भने । 

उनले प्रदेश सरकारले गरेका विकास निर्माण, सुशासन र नीतिगत सुधारको खुलेर प्रचार गरिदिन र खराब कामको आलोचना गर्न पनि आमसञ्चार क्षेत्रलाई अनुरोध गरे । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पत्रकारहरूको क्षमता अभिवृद्धि, पत्रकारिता क्षेत्रको संस्थागत विकास र अध्ययन अनुसन्धानका कार्यलाई अगाडि बढाउन तयार रहेको स्मरण गराउँदै त्यसको लागि आगामी आर्थिक वर्षभित्र आवश्यक कानून निर्माण गरी प्रदेशस्तरीय सञ्चार प्रतिष्ठान गठनको काम अगाडि बढाउने जानकारी गराए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजधानी टुङ्गो लागे पनि संरचनाहरू निर्माण नभएको दृष्टान्त प्रस्तुत गर्दै अब प्रदेश सरकारका आवश्यक संरचनाहरू कहाँ निर्माण हुन्छन् भन्ने कुराको सन्देश दिने गरी आगामी वर्षभित्र संरचना निर्माणको काम सुरु गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, पुरस्कृत व्यक्तित्व सोमनाथ सुशेली र चन्द्रकला भण्डारीले पनि पत्रकारिता  क्षेत्र मर्यादित र जिम्मेवार हुनुपर्ने कुरामा जोड दिए ।