धरान । वराहक्षेत्र चतराका पत्रकार हिमाल राईलाई अपमानित हुने किसिमको आरोप लगाएको विषयमा प्रहरीले एक युवालाई घटनाबारे बुझ्न मङ्गलबार प्रहरी कार्यालयमा बोलाएको छ ।
पत्रकार राईले सामाजिक सञ्जालमा समाचारको लिङ्क राखेपश्चात् वराहक्षेत्रकै विपिन मगरले कमेन्ट बक्समा सङ्गीन आरोप लगाएपछि वैशाख २४ गते प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा पीडक भनिएका मगरलाई के कसो भएको हो भन्ने विषयमा बुझ्न कार्यालयमा बोलाएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले जानकारी दिए । ‘गाली बेइजती चाहिँ गरेको देखिन्छ । के केसो भएको हो भनेर कार्यालयमा बोलाएका हौँ, पक्राउ नै गरेको चाहिँ होइन’ उनले भने, ‘पीडित पक्षलाई पनि छलफलका लागि बोलाएका छौँ ।’
उनका अनुसार ठाडो निवेदन परेको आधारमा बोलाई सोधपुछ गर्ने काम गर्दा आन्तरिक द्वन्द्वका कारणले लेखेको भन्ने जवाफ दिएको छ । ‘अर्को पक्ष नआई क्लियर्ली भन्न सकिँदैन’–उनले फोनसम्पर्कमा भने । यता पीडित पत्रकार राईलाई ब्लाष्टकर्मीले बुझ्दा आफूमाथि समाचारको लिङ्कको कमेन्टमा सङ्गीन आरोप लगाएकाले बाध्य भई उजुरी दिएको बताए ।