धरान । दुई दिने भ्रमणका क्रममा अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स एमपी मङ्गलबार काठमाडौँ आइपुगेका छन् । 

अष्ट्रेलिया र नेपालको गहिरिँदो सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरूबारे चर्चा हुने जनाइएको छ । सहायक मन्त्री वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । अष्ट्रेलियासँग ६३ वर्षभन्दा पुरानो दौत्य सम्बन्ध र झाँगिदो जनस्तरको सम्बन्धहरूको चर्चा गरिने जनाइएको छ । अष्ट्रेलियामा हाल करिब १ लाख ३० हजार नेपालीहरू बसोबास रहेको अनुमान गरिन्छ । 

भ्रमणका क्रममा ईस्वी संवत् तेह्रौँ शताब्दीको पाटनको सुलिम टोलस्थित रत्नेश्वर मन्दिरको टुँडाल समुदायलाई फिर्ता गर्न पाटन सङ्ग्रहालयमा आयोजना हुने कार्यक्रममा सहायक मन्त्री वाट्स सहभागी हुने कार्यक्रम छ । आर्ट ग्यालरी न्यु साउथ वेल्सले यो महŒवपूर्ण कलाकृति नेपाललाई फिर्ता गरिएको छ । सङ्ग्रहालयका निर्देशक डा. माइकल ब्राण्डले टुँडाल हस्तान्तरण गर्ने कार्यक्रम छ । काठमाडौँ विश्वविद्यालयमा सहायक मन्त्री वाट्सले हाल अष्ट्रेलियाली संस्थाहरूसँग भइरहेको सहकार्य र खानी उत्खनन्, हरित हाइड्रोजन इन्धनसम्बन्धी अनुसन्धान र हाल भइरहेका विद्यार्थी आदान–प्रदान कार्यक्रमलगायतका विषयहरूमा भविष्यमा हुनसक्ने सहकार्यका बारेमा जानकारी लिने जनाइएको छ । सहायक मन्त्री वाट्सले डा. सन्दुक रुईत र अष्ट्रेलियाली डा. फ्रेड हलोजको सहकार्यमा स्थापित आँखा स्वास्थ्यको उत्कृष्ट केन्द्रका रूपमा परिचित तिलगङ्गा आँखा प्रतिष्ठानको भ्रमण गर्ने जनाइएको छ । विगत तीस वर्षमा अष्ट्रेलियाली सरकार र फ्रेड हलोज फाउण्डेशनले तिलगङ्गा आँखा प्रतिष्ठानलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गरिरहेको छ । सहायक मन्त्री वाट्सको यो भ्रमण कार्यक्रममा बङ्गलादेशमा छैठौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने तथा भुटान र भारतको भ्रमण गर्ने कार्यक्रम पनि समावेश छ ।