क्यान्टोन्मेन्टको विषय राजनीतिक आग्रहका साथ उठान गरिएको प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गरे ।
यस विषयमा कसैले उजुरी गरेर छानबिन गरे आफू जेल जान तयार रहेको प्रधान मन्त्री प्रचण्डले घोषणा गरे । क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको उनको दाबी छ । भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको प्रम प्रचण्डले स्पष्ट पारे ।
संसदमा उठका प्रश्नको जवाफ दिँदै बिहीबार प्रचण्डले राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको आरोप उनले लगाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्रबहादुर शाहीले वास्तविक संख्याभन्दा बढी लडाकु भर्ती गरेको भनेर प्रचण्ड आफैंले स्वीकारेको भिडिओबारे प्रश्न सोधेका थिए । शाहीको प्रश्नमा जवाफ दिँदै प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार भयो भन्ने आरोप आरोपमात्रै भएको बताए ।
‘शान्ति सम्झौता भएर पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि योद्धाहरूको रासन पानीको निम्ति राज्यबाट दिइएको रकमको अडिट भएर हिसाबकिताबको रेकर्ड राखिएको छ ।’ जवाफमा प्रचण्डले भने । अडिटबाट टुंगो लगाइसकेको विषय भएको र, कसैले उजुरी गरे आवश्यक छानबिन गरेर दोषी प्रमाणित भए उनी आफैं जेल जान तयार रहेको बताए ।