प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले यस विषयमा छलफल गरिरहेकाले समस्या समाधान हुने आशा व्यक्त गरे ।
नागरिकताका विषयमा छलफलका क्रममा आएको सुझाव वा संकल्प प्रस्तावमार्फत् प्रमाणीकरण गर्न अनुरोध गर्ने वा मन्त्रिपरिषद्बाट निर्णय गरेर प्रमाणीकरण गर्न अनुरोध गर्नसक्ने विकल्पका बारेमा पनि परामर्श जारी रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
नागरिकतासम्बन्धी उक्त विधेयक मृत भन्ने तर्कलाई लिने अवस्थामा पनि पुनःशून्यबाट सदनमा प्रक्रिया सुरु गरी एक महिनाभित्र समाधान गरिने उनको प्रतिबद्धता थियोे । प्रम नियुक्त हुँदा छ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने प्रचण्डको प्रतिबद्धता सांसदहरुले स्मरण गराएका थिए ।