विराटनगर । सरकारले तोकेको न्यूनतम् पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम् तलब बढाउन माग गरेको छ ।
जेटियुसीसी कोशी प्रदेशले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी श्रमिकको न्यूनतम् तलब मासिक २५ हजार रुपैयाँ पु¥याउन माग गरेको हो ।

जेटियुसीसी कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले आकासिँदो महँगीको अवस्थामा श्रमिकहरूको जीवनयापन नै कठिन बनेको भन्दै न्यूनतम् पारिश्रमिक २५ हजार पु¥याउन रोजगारदाता र सरकारको ध्यानाकर्षण गराइएको बताए । हाल सरकारले तोकेको श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै छ । श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम् पारिश्रमिक पाउँदै आएका छन् । श्रमिकले न्यूनतम् पारिश्रमिक ९ हजार ३ सय ८५ मा महँगी भत्ता ५ हजार ६ सय १५ थप गरी १५ हजार रुपैयाँ पाउँछन् । यसका अतिरिक्त श्रम ऐनअनुसार सञ्चयकोष, उपदानसहितका सुविधा पनि उद्योग, प्रतिष्ठानले उपलब्ध गराउनुपर्ने हुन्छ । यही पारिश्रमिकसमेत कतिपय रोजगारदाताले लागू गरेका छैनन् ।

‘सरकारले कार्यालय सहयोगीलाई समेत मासिक २६ हजार रुपैयाँ तलब दिएको छ । तर, यस्तो कहालीलाग्दो मूल्यवृद्धि र महँगीको अवस्थामा पनि श्रमिकलाई भने मासिक १५ हजार रुपैयाँमात्रै दिएर उसको जीवनयापन कसरी हुन्छ भनेर नसोच्नु गम्भीर छ’ अध्यक्ष धमलाले भने, ‘विशेषतः अनौपचारिक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई बजार मूल्यवृद्धिको दाँजोमा अव्यावहारिक पारिश्रमिक दिइएको छ । यसरी मुलुकको उत्पादकत्व वृद्धि हुन सक्दैन, न त देशलाई नै समृद्ध बनाउन सकिन्छ ।’

उनले देशका सबै क्षेत्रमा कार्यरत श्रमिकहरूको पारिश्रमिकमा एकरूपता ल्याउने गरी मासिक पारिश्रमिक कम्तीमा २५ हजार रुपैयाँ निर्धारण गर्न सरकारलाई दबावपूर्णरूपमा आग्रह गरिएको बताए । ‘नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक २–२ वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीहरूको न्यूनतम् पारिश्रमिक निर्धारण गरी लागू गर्नुपर्ने हुन्छ । यही व्यवस्थाबमोजिम २०८० आषाढ मसान्तमा त्रिपक्षको आधारमा न्यूनतम् पारिश्रमिक निर्धारण गरी साउनदेखि लागू गर्नुपर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेको अवस्था छ’ उनले भने, ‘हामी सरकारलाई परिस्थिति सुहाउँदो हुने गरी पारिश्रमिक निर्धारण गर्न आग्रह गर्दछौं ।’

श्रमिकहरूको पारिश्रमिक वृद्धि नगरे कोशी प्रदेशमा चरणबद्धरूपमा आन्दोलनमा उत्रिने उनीहरूले चेतावनीसमेत दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय उपमहासचिवमा ओपेन्द्रकुमार रायले सम्पूर्ण क्षेत्रका श्रमिकहरूको पारिश्रमिक अविलम्ब वृद्धि गरिनुपर्ने बताए । ‘यदि श्रमिकको तलब वृद्धि नगरे आन्दोलनमा उत्रिन बाध्य हुनेछौं’–उनले भने । जिटियुसीसी कोशी प्रदेशले श्रम डेस्कको स्थापना, श्रमिक पञ्जीकरण, श्रम आयोगको गठनको पनि माग राखेको छ ।