प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीका लागि ४ दिनभित्र  दाबी पेश गर्न आह्वान गरेका छन् । 

प्रदेश प्रमुख खापुङले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले बिहीबार मात्र मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरेको थियो भने संविधानको धारा १६८ (२) अनुसार १७ गतेसभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो ।

सर्वोच्चले आदेश नै दिइसकेपछि नयाँ सरकार गठनको आह्वान गरिएको हो,’ प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले भने, ‘प्रदेशसभामा बहुमत प्राप्त गर्नसक्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गरी सरकार गठनको आह्वान भएको हो ।’ 

श्रेष्ठले सर्वोच्चको आदेशपछि १७ गतेसम्म कसको नेतृत्वको सरकार कामचलाउ भयो भन्ने विषयमा भने कुनै निर्णय र आदेश नभएको बताए । 

मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति प्रक्रिया नै सर्वोच्चले खारेज गरेसँगै काम चलाउ सरकारको नेतृत्व कसले गर्छ भन्ने बहस जारी छ ।

उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालले बिहीबार बदर गर्ने र नयाँ सरकार गठनको लागि आदेश दिएको थियो । 

पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिट निवेदनमा बिहीबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रियाका लागि साउन १७ गतेसम्म समयसीमा दिएको थियो । 

प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेर थापाले बहुमत दाबी गरेका थिए । उक्त दाबीलाई प्रदेश प्रमुख परशुराम खापुङले स्विकार्दै गत असार २१ मा मुख्यमन्त्रीमा निुयक्त गरेका थिए ।

सभामुखले सरकार निर्माण गर्ने प्रक्रियामा गरेको हस्ताक्षर अवैधानिक भएको सर्वोच्चले व्याख्या गरेको छ ।

Parashuram Khapung Aahwan 2