इनरुवा । सशस्त्र प्रहरीले गोताखोर तालिमका प्रशिक्षार्थीलाई सप्तकोसी नदीमा अभ्यास गराएको छ ।
गोताखोर तालिमका सहभागी प्रशिक्षार्थी कर्मचारीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह वाहिनी मुख्यालय पकलीले सप्तकोसी नदीको ब्यारेजमा अभ्यास गराएको हो । ४० दिने तालिममा सहभागी २० जना सुरक्षाकर्मीलाई वराह वाहिनीले नदीको गहिराइ र बहाव ज्यादा रहेको क्षेत्रमा अभ्यास गराउँदै आएको छ ।
पानीमुनीको गहिराइमा पुगेर गरिने खोज तथा उद्धारमा खटिने जनशक्तिको सङ्ख्या बढाउने सङ्गठनको नीतिअनुसार कोशी प्रदेशमा सञ्चालित गोताखोर तालिमका सहभागीलाई सप्तकोसीको भेल र गहिराइमा अभ्यास गराइएको वराह वाहिनीले जनाएको छ ।
वाहिनीपति सशस्त्र प्रहरीका डिआइजी अञ्जनीकुमार पोखरेलले कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा गोताखोर तालिम सञ्चालनमा रहेको बताए । १८ जना सशस्त्र प्रहरी र २ जना जनपथ सम्मिलित गोताखोर तालिम सङ्गठनको चौथो ब्याच रहेको उनले बताए । पोखरेलका अनुसार हाल देशभर ७४ जनाको सङ्ख्यामा रहेको जनशक्ति चौथो ब्याचपश्चात् ९४ को सङ्ख्यामा पुग्नेछ ।
उक्त जनशक्ति देशभर आइपर्ने विपद्, खोज तथा उद्धारमा खटिने डिआइजी पोखरेलले बताए । चौथो ब्याचका जनशक्तिलाई सप्तकोसीपश्चात् त्रिशूली नदी र फेवातालमा अभ्यास गराइने डिआइजी पोखरेलले जानकारी दिए । गोताखोर तालिमको अभ्यासका क्रममा कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलासहितको उपस्थिति रहेको थियो । गोताखोर अभ्यासको सुनसरी र मोरङका प्रजिअसहित सशस्त्र र जनपथ प्रहरीतर्फका दुवै डिआइजीले एकसाथ निरीक्षण गरेका थिए ।