बिर्तामोड । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको विकल्प खोज्ने बेला आइनसकेको बताएका छन् ।
झापाको बिर्तामोडमा आयोजित काङ्ग्रेसको झापा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै शर्माले सरकारले जनमुखी काम गरिरहेकाले विकल्प खोज्ने बेला नभएको बताएका हुन् । ‘एक्लै सत्ता सञ्चालन गर्ने गरी सुविधाजनक बहुमत काङ्ग्रेसलाई आएको छैन, ८८ सिटले एक्लै सरकार बनाउन सकिँदैन’ शर्माले भने, ‘दुई वा दुईभन्दा बढी दलको सरकार बनाउनु पर्ने भएका कारण यो सरकार निर्माण भएको हो ।’
अहिले नै सरकारको विकल्प खोज्नु गलत हुने उनले बताए । सरकारले वर्षांैदेखि रहेका भ्रष्टाचारका फाइल खोलेर कारबाही प्रक्रिया अघि बढाएको भन्दै शर्माले त्यसलाई अवरोध गर्न नहुने बताए । उनले सरकारका केही कमजोरी रहे पनि सकारात्मक पक्ष धेरै भएको चर्चा गरेका छन् ।
कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका योगप्रसाद ढकाल (रिगल) लाई दिइएको आममाफी गलत नभएको शर्माको भनाइ छ । ‘सरकारले विधिसम्मत ढङ्गबाट आममाफी दिएको छ, उसको आलोचना गर्नुपर्ने जरुरी छैन’ शर्माले भने, ‘तर, यो घटनापछि आममाफी सम्बन्धी कानुन नै संशोधन गर्नुपर्ने रहेछ भन्ने अनुभूति भएको छ ।’ शर्माले आममाफी दिनका लागि पीडित परिवारको सहमति लिनुपर्ने गरी कानून संशोधन गर्न आवश्यक रहेको धारणा राखे । नयाँ दलको उदयका कारण केही मानिसमा पुराना दलहरूप्रति वितृष्णा उत्पन्न भएको उनले बताए ।
नयाँ दलले के के गर्छन् होइन, पुराना दलहरूले गरेको कामको फेहरिस्त नागरिकलाई बुझाउनुपर्ने उनले बताए । यतिबेला गाउँ, गाउँमा मोटरबाटो, विद्युतीकरण, इन्टरनेट, स्वास्थ्य संस्था, विद्यालय, कलेज स्थापना भएको भन्दै उनले तीव्र रूपमा भएको विकासको जस पुराना दलहरूलाई नै जाने बताए ।
काङ्ग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले भ्रष्टाचारको फाइल खोल्ने नाममा सरकार काङ्ग्रेसप्रति निर्मम भएको आरोप लगाए । उनले गठबन्धनमा नेतृत्वले पुनर्विचार गर्नुपर्ने धारणा राखे । पार्टीमा पुस्तान्तरण नभई रूपान्तरणको आवश्यकता रहेको उनले बताए । पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले गठबन्धनको विषयमा सोच्नुपर्ने बेला आएको बताए । पार्टीले सरकारमा बस्नैपर्छ भन्ने अनिवार्य नभएको उनको भनाइ थियो । सरकारमा गएर काङ्ग्रेस खुम्चिएको भन्दै महरले रिगललाई दिइएको आममाफीको जिम्मा सरकारले नै लिनुपर्ने बताए ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईंले गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोमा भट्टराई, सुशीला ढकाल, जिल्ला उपसभापति केशवराज पाण्डे लगायतले बोलेका थिए ।