धरान । अग्रवालहरूका कुलपिता श्री अग्रसेनजी महाराजको ५१४७ औँ जन्मजयन्तीको अवसरमा मारवाडी महिलाहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।

धरान–१३ स्थित अमरहाट कवर्डहलमा असोज १९ गते नेपाल अग्रवाल महिला मञ्च धरानको आयोजनामा सम्पन्न प्रतियोगितामा विधि अग्रवाल च्याम्पियन बनेकी छन् । १९ प्रतिस्पर्धीलाई पछि पार्दै च्याम्पियन बनेकी उनले नगदसहित ट्रफी तथा मेडल प्राप्त गरिन् ।

त्यस्तै पुनम अग्रवाल दोस्रो, रश्मी अग्रवाल तेस्रो र हनी अग्रवाल सान्त्वना भए । विजयी हुने प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः नगद ११ सय, ८ सय, ५ सयसहित ट्रफी प्रदान गरिएको सचिव सुनिता अग्रवालले जानकारी दिइन् । मारवाडी समुदायमा पहिलो पटक खेलकुद प्रतियोगिता गरिएको अध्यक्ष इन्दु तोदीले जानकारी दिइन् । कार्यक्रम संयोजक पिङ्की अग्रवालका अनुसार प्रतियोगिताका लागि मारवाडी महिलाहरूबीच छनोट गरी अन्तिममा २० जनालाई प्रतिस्पर्धाका लागि उतारिएको थियो ।