विजयपुर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले चाडपर्वलाई लक्षित गर्दै कोशी प्रदेशका मुख्य सहरहरूका १९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । असोज २८ गतेसम्म थप २८ स्थानमा स्थापना गरिने भएको छ ।

चाडका समयमा देशका विभिन्न स्थानमा आवत–जावत गर्ने यात्रुहरूको सुविधालाई मध्यनजर गरी सहायता कक्ष स्थापना गरेको कार्यालयले जनाएको छ । यात्रुहरूलाई आइपर्न सक्ने समस्यालाई तत्काल समाधान गर्न सहायता कक्षा स्थापना गरिएको प्रहरीले जनाएको छ । यात्रु सहायता कक्ष चाडपर्व अवधिभर रहनेछन् ।

आइतबार सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले इटहरी–९ स्थित बसपार्कको यात्रु सहायता कक्षको उद्घाटन गरिन् । प्रजिअ पाण्डेले कानूनविपरीत कार्य गर्ने सार्वजनिक यातायातका कर्मचारीहरूलाई कारबाही गर्न निर्देशन दिइन् । चाडपर्वको समयमा यात्रुहरूलाई बढी भाडा लिने, यात्रुलाई जथाभावी तान्ने, यात्रु गुन्टाको असुरक्षा, आरक्षण सिटको कार्यान्वयन नगर्ने, सिट क्षमताभन्दा बढी यात्रु कोचाकोच गरी राख्ने बस तथा बसमा रहेका कर्मचारीलाई कारबाही गर्ने प्रहरीले जनाएको छ ।

यस्तै यात्रुहरूलाई गन्तव्यसम्म नपुर्याउने, एकभन्दा बढी व्यक्तिलाई एकै सिटको टिकट काट्ने, झुटा टिकट काटी यात्रुलाई बिचल्ली बनाउने, मापदण्ड विपरीत सवारी सञ्चालन गर्नेलाई पनि कारबाही गर्ने प्रहरीले जनाएको छ । कारबाहीका लागि यात्रुहरूले यात्रु सहायता कक्ष तथा सुरक्षा निकायमा जानकारी गराउनु पर्नेछ ।

पहिलो चरणमा कोशी प्रदेशमा झापाको काँकडभिट्टा, बिर्तामोड, दमक, मेचीनगर, इलामको फिक्कल, धनकुटा बसपार्क, हिले, साँगुरीगढी, तेह्रथुमको लालीगुँरास चोक, म्याङ्लुङ, उदयपुरको त्रियुगा नगरपालिका बसपार्क, पाँचथरको फिदिम बसपार्क, भोजपुरको देउराली, खोटाङको सहिदगेट, ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा), सङ्खुवासभाको जिरो पोइन्ट, सुनसरीको कोशी गाउँपालिका शिवचोकमा सहायता कक्ष स्थापना गरिएको छ ।