धरानस्थित वराह ग्रुप अफ कम्पनीका कर्मचारी ज्वेलरी विभाग र पछिल्लो समय सूचना अधिकारीका रुपमा कार्यरत अम्बरबहादुर विश्वकर्मा (सौराज लामिछाने) लाई चेक बाउन्स (चेक अनादर/बिगो) मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।
राजधानीको नक्खिपोटमा लुकेर बसिरहेको अवस्थामा उपत्यका प्रहरीले हिजो साँझ ६:३० बजे पक्राउ गरेको हो । नयाँ वानेश्वरमा बहिनीको नाममा ज्वेलरी सन्चालन गरिरहेका उनलाई ३० लाख रुपैयाँ चेक अनादर गरेको आरोपमा पक्राउ गरिएको हो ।
सुनसरी जिल्ला अदालतले गत असोज २० गते ०७९ असार ९ देखि चेकबमोजिमको रकम प्रतिवादीबाट ब्याजसहित भराउन फैसला गरेको चेक अनादर मुद्दाका पीडित खगेन्द्रबहदुर नेपालीले बताए ।
फैसला कार्यान्वयनको क्रममा प्रतिवादी विश्वकर्माको नाममा अदालतबाट जारी भएको सात दिने सूचना म्यादमा प्रतिवादी हाजिर नभएको र उनको जायजेथासमेत फेला नपरेको अदालतको आदेशमा उल्लेख छ ।
प्रतिवादीलाई दुई वर्ष कैदमा राखी पाऊँ भनी तामेल भएको मुद्दामासमेत प्रतिवादी विश्वकर्मा म्यादभित्र अदालतमा उपस्थित नभएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६५ (८) बमोजिम प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गर्न प्रहरीलाई निर्देशन दिइएको थियो ।