धरान उपमहानगरपालिका वडा नम्बर १४ द्वारा आयोजित प्रथम पिण्डेश्वर खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पिण्डेश्वर फुटबल क्लब-बी विजयी भएको छ ।

सोमबार पिण्डेश्वर खेल मैदानमा पन्चायन फुटबल क्लब रामधुनी-७, ५-३ गोल अन्तरले पराजित भयो ।

प्रतियोगिताको उद्घाटन धरानका नगर उपप्रमुख अइन्द्रविक्रम बेघाले गरे । खेलाडीलाई बल हस्तान्तरण गर्दै बेघाले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले धरान खेलकुदको सहर भएकाले फुटबल खेलको विकासमा टेवा पुर्याउने उद्येश्यसहित प्रतियोगिताको आयोजना गरिएको बताए ।

Pindeshwar Football Tournament

खेलको औपचारिक उद्घाटन कार्यक्रममा धरान-१४ का वडा सदस्यहरु झर्ना मुखिया, कमल भट्टराई, दुर्गा बिक, राम तामाङलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि उपस्थित भए ।

प्रतियोगितामा १६ टिम सहभागी छन् । विजेताले नगद ५१ हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् । उपविजेताले ३१ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।

मङ्गलबार हुने दुई खेलमा पहिलो, धरान-१३ स्पोर्टिङ क्लब र बाङ्गे गाइज फुटबल क्लबले स्पर्धा गर्ने छन् । दोस्रो खेलमा पिण्डेश्वर फुटबल क्लब- ए र बगुवा फुटबल क्लब भिड्नेछन् ।

पिण्डेश्वर युवा क्लबले संयोजन गरेको प्रतियोगिताको फाइनल असोज ३ गते हुने आयोजकले जनाएको छ।