धनकुटा । धनकुटामा चाडपर्वलक्षित बजार अनुगमन गरेको छ । स्थानीय प्रशासन धनकुटाले बजारमा दैनिक उपभोग्य खाद्य सामग्रीहरूलाई लक्षित गरेर अनुगमनलाई तीव्रता दिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय धनकुटा र राष्ट्रिय उपभोक्ता मञ्च धनकुटा तथा स्थानीय सञ्चारकर्मी, नेपाल प्रहरीसहितको टोलीले संयुक्तरूपमा धनकुटामा सोमबारदेखि अनुगमन गरिरहेको छ ।
अनुगमन टोलीले विशेष गरेर खाद्यान्नका थोक तथा खुद्रा पसलमा अनुगमन थालेको हो । सो क्रममा अनुगमन टोलीले धनकुटाको छथरजोरपाटी गाउँपालिकाको जोरपाटी बजार र पाख्रीबास नगरपालिकाको पाख्रीबास बजारका खुद्रा तथा थोक किराना पसल अनुगमन गरेको छ ।
ती बजारमा रहेका एक दर्जनभन्दा बढी खुद्रा तथा थोक किराना पसलहरूमा अनुगमन गरी म्याद गुज्रिएका दैनिक उपभोग्य खाद्यवस्तु नष्ट गरिएको छ । उक्त म्याद गुज्रेका दैनिक उपभोग्य खाद्यवस्तुहरू जफत गरी स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा आगो लगाई नष्ट गरिएको हो ।
त्यस्तै अनुगमनका क्रममा उक्त पसलहरूलाई म्याद गुज्रेका दैनिक उपभोग्य खाद्यवस्तु आगामी दिनमा नबेच्न सुझाव तथा चेतावनीसमेत दिइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अङ्कित मग्रातीले बताए । यसअघि टोलीले धनकुटाको सिँधुवा बजारमा समेत अनुगमन गरेको थियो ।