पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल वराहक्षेत्र मन्दिर क्षेत्रका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् । विद्युत्लाइन जडान गरिएको भए पनि ट्रान्सफर्मरले लोड धान्न नसक्दा वराहक्षेत्रवासी विद्युत् समस्या भोग्न बाध्य भएका हुन् ।
मन्दिर क्षेत्रमा २ वटा २५ केभी (किलोभोल्ट) एम्पिएर का ट्रान्सफर्मर रहेका छन् । 'दिनहुँ सयौं पर्यटक र तीर्थालुहरू विशेष चाड पर्व र तिथिहरूमा मन्दिर दर्शन गर्न आउने गरेका छन्, होटलहरू २४ सै घण्टा खुल्ला रहने अवस्था छ, विभिन्न विद्युतीय उपकरणहरू चलाउनु पर्छ, जसले गर्दा विद्युत् खपत बढी हुने हुँदा बत्ती त मधुरो बल्छ भने उपकरण चलाउन त परै जाओस, हामीलाई धेरै समस्या छ' - स्थानीय वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले भने ।
मन्दिर क्षेत्रमा एकातिर भोल्टेजको समस्या छ भने अर्कोतर्फ वराह भगवान्को मन्दिर प्रवेशद्वारनजिकै रहेको बसपार्कस्थित सडकको बीचमा रहेको विद्युत्को पोल स्थानीयबासीको लागि अर्को टाउको दुखाइ बनेको छ ।
'गेटनजिकै पोल छ, बाटो आउजाउ गर्दा बढ़ी चहल-पहल हुँदा दुर्घटना हुने सम्भावना बढेको छ वर्षौंअघि को समस्या हो, अहिलेसम्म समाधान हुन सकेको छैन' - वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थाका अध्यक्ष रामकुमार भुजेलले गुनासो गरे ।
प्रसिद्ध तीर्थस्थलको विषयमा जनप्रतिनिधिलगायत सरोकारवालाहरू मौन रहेको भुजेलको गुनासो छ ।
यस सम्बन्धमा जिज्ञासा राख्दा चतरा विद्युत् काउन्टर तथा फ्युज सेवाका प्रमुख रामकुमार यादवले समस्याको विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए । स्थानीयले लिखित निवेदन दिएमा ट्रान्सफर्मरको क्षमता वृद्धि र विद्युत् पोल स्थानान्तरण गर्न तत्काल पहल गरिने बताए ।