झण्डै दुई वर्ष भयो विश्वम्भरको ठेला थन्किएको । ठेला समयले थन्क्यायो । ठेला बाध्यताले थन्क्यायो । ठेला विपत्तिले थन्क्यायो ।
घरको उत्तर कुनामा थन्किएको ठेला हेर्दै विश्वम्भर एकाबिहानै चन्दा उठाउन निस्कन्छन् । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ स्थित ठाकुरबारीपूर्व साँघुरो बाटोमा एउटा नाम नराखिएको टोलमा छ विश्वम्भरको दु:खको घर । घरमा पुरानो ठेला थन्किएको छ, अनि असाध्ये रोगले ओछ्यानमा श्रीमती ।
विश्वम्भर अधिकारी (४८) ठेला चलाएर जिन्दगी धानिरहेका थिए । घरमा एक छोरी र श्रीमती । श्रीमती अम्बिका राई अधिकारी २ वर्षदेखि कलेजो र मृगौला रोगले ओछ्यानमा थलिएकी छिन् । विश्वम्भरको ठेला साविकजस्तो चल्न छाड्यो ।
सिटीसफारी, टेम्पोले प्रतिस्थापन गरिदिएको उनको ठेलाले न दैनिक जीवन चलाउन सक्यो न श्रीमतीको ओखती नै किन्न सक्यो । ठेला थन्क्याए । अनि जे काम भेटिन्छ त्यही गर्न बाध्य भए विश्वम्भर । तर, गाउँमा रोजगारीको अभावले उनीसँग चन्दा उठाउनुको विकल्प रहेन । त्यस अघि उनले कमाइ खाँदै गरेको जग्गा ८० हजारमा बिक्री गरे । श्रीमतीको उपचारमा लगाए । तर रोग बीसको उन्नाईस भएन ।
स्थानीय सरकारलाई सहयोगको याचना गरे । ४ हजार रुपैयाँ पाए र एउटा चन्दा उठाउने चिर्कटो ।
हप्ता-पन्ध्र दिनमा श्रीमती अम्बिकाको कलेजो र मृगौलाको पानी फ्याँक्नु पर्छ । हालसम्म चन्दा र जायजेथाबाट सङ्कलित डेढ लाख रुपैयाँ विश्वम्भरले खर्च गरिसके रोग रोकथामका लागि । रोगको दीर्घकालीन निवारणका लागि उपचार गर्न आर्थिक छैन ।
आफैं रोगी उनी । 'ठूलो बिरामीका अगाडि आफ्नो रोगको त के कुरा' विश्वम्भर भन्छन् ।
बिमाका लागि फारम भरेको ९ महिना भयो । मङ्सिर-पुसदेखिमात्र बिमाको सुविधा पाउने अस्पतालले बताएको छ । 'फारम भरेको ९ महिना भयो कार्ड आएन, बिमा भए त केही सजिलो हुन्थ्यो ।' उनी भन्छन् ।
दु:खले जीविकोपार्जन गरिरहेको उनको जीवनमा आइपरेको बज्रपातबाट कसरी उम्कने उपाय छैन उनीसँग । उपाय केही नहुँदा अब याचना र अपिल गर्नुबाहेक विकल्प पनि छैन उनीसँग ।
अरुका घरमा दसैं विश्वम्भरका घरमा दशा छ । उज्यालो अनुहार छैन दम्पतिको । अभाव छ सम्पत्तिको । मनकारीसँग याचना गरेका छन् विश्वम्भरले - 'श्रीमतीको ज्यान बचाइदिनुहोस् ।'
विश्वम्भरले उनको सम्पर्क नम्बर ९७०३४५११६८ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । नेपाल बैङ्क लिमिटेड चक्रघट्टी शाखाको खाता नम्बर १२६०१००७३६६१२८०००००१ (Bishomver Adhikari) मा आर्थिक सहायता गरिदिन अपिलसमेत गरेका छन् ।