रुकुम पश्चिममा भूकम्पमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नमराज भट्टराईले जानकारी दिए । 

उनका अनुसार जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट गरेर ३० जना उपचारपछि घर फर्किएका छन् । चालिस जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको प्रहरी प्रमुख भट्टराईले जानकारी दिए । भूकम्पमा परी बेपत्ताको खोजी जारी रहेकाले थप घाइते र मृत्युको सङ्ख्या बढ्नसक्ने उनको भनाइ छ । 

जाजरकोटको रामीडाँडामा शुक्रबार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पका कारण रुकुमपश्चिममा पनि ठूलो मानवीय क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ ।

गए राति गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको छ ।

कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार भूकम्पबाट जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रुकुम पश्चिममा १९ पुरुष र १९ महिला गरी ३८ जनाको मृत्यु भएको छ । भूकम्पबाट जाजरकोटमा ८१, रुकुम पश्चिममा ७२, जुम्ला र दैलेखमा तीन–तीन तथा  सल्यानमा एक जना घाइते भएका छन् । उनीहरुको जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । 

जाजरकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भूकम्प प्रभावित क्षेत्रमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वगृहमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालगायत पुगेर मृतकका परिवारजन तथा घाइतेलाई भेट गरेका छन् ।