धरान । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का वरिष्ठ नेता तथा सङ्घीय सांसद् प्रेमबहादुर सुवालले देशको आर्थिक, राजनीतिक अवस्था जर्जर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

धराने समूहसँग भक्तपुरमा भेटघाट गर्दै उनले आफ्नो पार्टी सधैँ भ्रष्टाचार बेथितिको विरुद्धमा लड्दै आएको बताए । उनले हालै देशमा लागू गरिएको नागरिकता विधेयक, एमसीसी परियोजना राष्ट्रघाती भएको बताए । उनले हाल चलिरहेको प्यालेस्टाइन र इजरायलको द्वन्द्वलाई आफ्नो पार्टीले फरक कोणबाट हेरेको पनि बताए । देशमा रोजगार बढाउन र विदेश जाने परिपाटीको अन्त्य गर्नका लागि पार्टी अध्यक्ष नारायणमान विजुक्छेलाई एक सय वर्षे योजना बनाएर पुस्तक प्रकाशित गरेको भक्तपुरका नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले विकासको मेरुदण्ड भनेकै शिक्षा र स्वास्थ्य रहेकाले त्यसका लागि अध्यक्षले हरेक घरमा कम्तीमा एक स्नातक भन्ने नारा दिएर ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेज स्थापना गरेको बताए । उनले यहाँ सबैले न्यूनतम् शुल्कमा स्वास्थ्य सेवा र इन्जिनियरिङ अध्ययन गर्न पाउने बताए । काठमाडौँमा बस्ने धरानेहरूको एक समूहलाई भक्तपुरमा स्वागत गर्दै उनले त्यस्तो बताएका थिए ।

नेमकिपा कोशी प्रदेश कमिटीको निम्तोमा भक्तपुरको विकास निर्माणबारे अवलोकन गर्न र जनप्रतिनिधिसँग भेटघाटका लागि धराने समूहमा झण्डै ५० जनाको टोली त्यसतर्फ गएको थियो । भक्तपुर सहकारी बचत तथा ऋण कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख प्रजापतिले नगरपालिकाले प्रकाशित गरेको विकास निर्माणका पुस्तक, पत्रपत्रिकाहरू समूहका अग्रज शक्ति थापालाई उपहार दिएका थिए । नेमकिपाका केन्द्रीय सदस्य तथा कोशी इन्चार्ज उकेस कुवाले ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजलाई स्तरोन्नति गरी देशकै सबैभन्दा सस्तो र स्तरीय सेवा सुविधा प्रदान गर्ने बनाउन भक्तपुरका सम्पूर्ण जनताहरू लागिपरेको बताए । उनले यहाँको अस्पतालमा अक्सिजन निःशुल्क रहेको र वरिष्ठ डाक्टरबाट जचाउँदा ८० रुपैयाँ र जेनरल वार्डमा जचाउँदा ५० रुपैया मात्र शुल्क लिने गरेको बताए ।

भेलामा सहभागी धराने समूहका तर्फबाट सुनिल शाक्यले जनप्रतिनिधिहरू इमान्दार भए नगरको विकास हुन बेरै नलाग्ने बताए । उनले नेमकिपाले नेतृत्व गरेको भक्तपुरको विकास देशकै उदाहरणीय भएको बताए । उनले आफूहरूले भक्तपुरका जनप्रतिनिधिले एक पैसा पनि भ्रष्टाचार नगरेको पाउँदा खुसी लागेको बताए । उनले देशकै लागि उदाहरणीय कार्य भएको बताए । कार्यक्रममा धरानका बुद्धिजीवी शक्ति थापा, सङ्गम श्रेष्ठ, विनोद तखाछे, राजेन्द्र रिमाल, महेश प्रधान, उमेश प्रधान, रोजेश शाक्यलगायत भेलामा सहभागी रहेको पत्रकार आनन्द श्रेष्ठले जानकारी दिए ।