ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ। दसैँ सकिएसँगै किसान अलैँची टिप्न,छोडाउन र सुकाउनमा व्यस्त छन्। ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने विशेष समय हो ।अलैँची ताप्लेजुङकैमुख्य नगदे बालीकारूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपने गरिन्छ।
अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ। अलैँची सङ्कलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका वडा नम्बर –१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताउछन् ।
अलैँची थन्क्याउने समय भएकाले चाडपर्व सहज गरी मनाउनै नपाएको उनले बताए । अलैची थन्काउने मुख्य सिजन भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका वडा नम्बर –६ मादिबुङका वसन्त लिम्बूले बताउछन्। उनि भन्छन् तिहार अलैँची बगानमै मनाउने उनको योजना छ ।
फुङ्लिङ नगरपालिका वडा नम्बर –६ बिहीबारेका खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै दसैँ बितेको बताएका छन्। घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको उनले बताए ।
अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैँची भित्र्याउन भ्याइनभ्याइ छ। जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ वडा नम्बर–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएका छन् । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । ताप्लेजुङमा प्रतिमन (४० किलो)खलैँची ५५ हजारमा खरिद बिक्री हुँदै आएको छ ।
अलैँची बगानमा रोजगारी
फुङ्लिङ वडा नम्बर –७ बिहीबारे क्षेत्रमा रहेको अलैँची बगानमा पूर्ण राई अलैँची टिपाइमा व्यस्त छन्। उनले पाथीभरा याङवरक गाउँपालिका वडा नम्बर– १ नाङखल्याङबाट अलैँची टिप्न रोजगारी गर्न फुङ्लिङसम्म आउने गरेका छन् । दसैँ सकेलगत्तै राई घरबाट निस्कीएका हुन्। बिहान उठेपछि अलैँची टिप्न बगानमा पसेपछि राई साँझमात्र बगानबाट बाहिर निस्कन्छन्। उने साँझ–बिहानको खाना खाजा पनि अलैँची बगानमै खाने गरेका छन्। बिहान र दिनभरि टिपिएको अलैँचीको थुङ्गा बगान नजिकै रहेको अलैँची सुकाउने भट्टीमा जम्मा गर्छन् । दिनभरि टिपिएको अलैँचीको थुङ्गा बेलुका १० बजेसम्म छोडाउनु राईको अहिले दैनिकी बनेको छ ।
पाथीभरा याङवरक वडा नम्बर –१ नाङखल्याङ गाउँका पूर्ण राईसँगै ७ जना घर छाडेर अलैँची टिप्न फुङ्लिङ पुगने गरेको बताउछन्। गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ वडा नम्बर–६ अवस्थित अलैँची बगानमा आइपुगेको नरप्रसाद राईले बताए। उनि तिहारसम्मै बगानमै बसेर अलैँची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा व्यस्त हुनेगरेको बताउछन् ।
देउसीभैलो खेल्नेलाई दान दक्षिणा दिनका लागि खर्च जुटाउन अलैँची बगानमा रोजगारी गर्न थालेको उनि बताउछन्। अलैँचीमै बसेर टिप्ने, छोडाउने र सुकाउने मजदुरलाई प्रतिदिन पाँच सयदेखि सात सयसम्म ज्याला दिने गरेका छन् ।