धरान । झापाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको दमक नगरपालिका र कनकाई नगरपालिकामा समेत गरी दुईजना पुरुषको ज्यान गएको हो । सोमबार दमक नगरपालिका–३ स्थित पुल निर्माणको क्रममा मजदुर भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चङ्खबहादुर सार्कीको मृत्यु भएको हो ।

पुलमा निर्माण मजदुरका रूपमा रहेका उनले मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै झापाको कनकाई नगरपालिका–३ मा छाना लगाउने क्रममा सोही नगरपालिका–६ का २६ वर्षीय रामकुमार श्रेष्ठको मृत्यु भएको हो ।

रड बोकेर लैजाने क्रममा बिजुलीको तारमा रडले छोएपछि करेन्ट लागेको थियो । उनलाई तत्कालै बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।