भरौल । थारू कल्याणकारी सभा सुनसरीमा आज (शनिबार) देखि हुन लागेको अधिवेशनमा तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

दुई महिलासहित एक पुरुषले जिल्ला अध्यक्षका लागि सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गरेका हुन् । संस्थाका कतिपयले राजनीति हाबी गरिन लागिएको आरोप पनि लगाएका छन् । पुस १ गतेसम्म अधिवेशन चल्नेछ । अध्यक्ष पदका लागि तारादेवी चौधरी, सगेन चौधरी र जानकी चौधरीले उम्मेदवारी घोषणा गरेका हुन् । तारादेवी र सगेन रामधुनी नगरपालिका वडा नम्बर १ निबासी हुन् भने जानकी ६ नम्बर वडाबासी हुन् ।

तीनजनाको उम्मेदवारी परेको थारू कल्याणकारी सभा जिल्ला समितिले जनाएको छ । तीनमध्ये जानकीको चर्चा केही बढी छ भने अन्य दुई जना अध्यक्षमा आउने सम्भावना केही कम रहेको स्थानीयवासीको अनुमान छ । अध्यक्ष पदका लागि बारम्बार सहमति गराउने प्रयास गरिएको छ । तर, हालसम्म सहमति नभएकाले अध्यक्षमा चुनावी प्रतिस्पर्धाबाट छनोट गरिनुपर्ने अवस्था सिर्जना हुन लागेको अनुमान गरिएको छ । रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरीको संयोजकत्वमा बनेको समितिले तीनै जनालाई सहमतिमा आउनका लागि आग्रह गरेका थिए । उक्त समितिमा रहेका थारू कल्याणकारी सभाका पूर्व अध्यक्ष चन्द्रनारायण चौधरी, पूर्व पार्षद् केशीलाल चौधरी, थाकस रामधुनी नगरअध्यक्ष राजकुमार चौधरी, रामधुनी नगरपालिका–१ का वडाध्यक्ष महेश चौधरी, रामधुनी–३ का वडाध्यक्ष बुधनारायण चौधरीले सहमति गराउन बारम्बार प्रयास गरेका थिए । 

उनीहरूको भेलाले जिल्ला सभापतिमा सगेनलाई लाने तयारी गरेको थियो । त्यस्तै उपाध्यक्षमा तारा चौधरी र केन्द्रमा जानकीलाई लाने सहमतिको प्रयास असफल भएपछि प्रतिस्पर्धा हुने सम्भावना बढेको भेलाको संयोजकसमेत रहेका रामधुनी नगरका प्रमुख शङ्करलालले जानकारी दिए । यता अधिकांश सदस्यहरू भने जानकी चौधरीको पक्षमा देखिएका छन् । जानकी थारू समुदायको गुनासो सुन्ने र हरेक कार्यक्रममा उपस्थित हुनसक्ने भन्दै चर्चा परिचर्चा भइरहेको छ । यता उम्मेदवारी घोषणा गरेकी जानकी चौधरीले संस्थामा पुरुषमात्रै अध्यक्ष हुनुपर्छ भन्ने सोचले ग्रस्त भएकाले पनि उक्त मानसिकतालाई तोड्न उम्मेदवारी दिएको बताइन् ।

सभापतिका प्रत्यासी सगेन चौधरीले विशुद्ध जातीय संस्था र आफू पनि थारू भएको नाताले उम्मेदवारी घोषणा गरेको बताए । उनले आफू यसअघि पनि अध्यक्षमा उठेको तर, आफै आफै किन लड्ने भनेर समझदारीमा सुरेन्द्र चौधरीलाई छाडेको बताए । तर, यसपटक आफू अध्यक्षमा चुनाव लडेरै भए पनि आउने बताउँदै थारूको माग र मुद्दालाई अगाडि बढाउने दाबी गरे । यता अर्की उम्मेदवार तारादेवी चौधरीले आफूले उम्मेदवारीको घोषणा गरिसकेकाले कुनै पनि हालतमा पछाडि नहट्ने बताइन् । उनले आफू चुनाव लड्न पनि तयार रहेको बताइन् । उनले सहमतिमा जानकीलाई केन्द्रमा र सगेनलाई उपाध्यक्ष पद दिइन्छ भने आफूसँगै काम गर्न तयार रहेको बताइन् । सभापतिमा योग्य महिलाको रूपमा जानकी रहेको र अहिले सबैतिर उनकै चर्चा भएको थारू चलचित्र तथा सांस्कृतिक सङ्घ सुनसरीकी कोषाध्यक्ष ललिता चौधरीले बताइन् ।

त्यसो त सगेन चौधरीप्रति पनि सकारात्मक देखिएका छन् । तर, महिलाहरू जानकीको पक्षमा देखिएका छन् । यता अग्रज पत्रकार धीरेन्द्र चौधरीले विशुद्ध थारूहरूको हकहितका लागि खोलिएको संस्थामा राजनीति हाबी हुनु दुःखद् भएको बताए । ‘जब संस्थामा राजनीति सुरु हुन्छ, सम्झनुस् त्यो संस्थाको अस्तित्व खत्तम भयो’ उनले भने, ‘अहिलेको उम्मेदवारीहरू पूर्णतः राजनीतिबाट प्रेरित छन् ।’ यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष सुनिल चौधरीले थारूको हकहित र उत्थान गर्ने स्वच्छ भावना भएको व्यक्ति आउनुपर्ने बताए । ‘संस्थामा जो आए पनि थारूहरूको हकहित उत्थान स्वच्छ भावना भएको व्यक्ति आउनु प¥यो’–उनले भने ।

यता थारू चलचित्र तथा सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष महानायक पर्शुराम चौधरीले एक व्यक्ति एक पद मात्रै बस्नुपर्ने बताए । सङ्घको जिल्लाको नेतृत्व सम्हालिरहेकाले पनि जानकीले अर्कोतिर पद खोज्न नहुने तर्क गरे । ‘किन सबैतिर पदको लोभ गर्ने, एउटा संस्थामा बसेर काम गर्ने नि होइन’ उनले भने, ‘दुवै संस्था थारूको हकहित गर्नका लागि स्थापना भएको हो । उहाँले राजीनामा दिएर जानुपर्छ । अन्यथा केन्द्रले बाध्य भएर पत्र काट्नुपर्ने हुन्छ ।’