ताप्लेजुङमा आजदेखि पुसे स्वर्ण महोत्सव आरम्भ भएको छ। मेरिङदेन र आठराईत्रिवेणी गाउँपालिको सङ्गमस्थल दोभान बजारमा मेला सुरु भएको हो ।
मौलिक संस्कृतिको संरक्षण, पर्यटन र कृषि क्षेत्रको प्रवद्र्ध्न गर्ने उद्देश्यले दोभान स्पोर्टिङ क्लब तथा पुसे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिको संयुक्त पहलमा महोत्सव आयोजना गरिएको हो । महोत्सव यही पुस ५ गतेसम्म चल्नेछ। समितिका अध्यक्ष हेम सिरिङ चोङबाङका अनुसार ५० वर्षदेखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुसे मेलामा यसवर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ ।
प्रतियोगिताको विजेताले तीन लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। उपविजेतालाई एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सेमिफाइनल प्रवेश गर्ने टोलीलाई ५० हजार पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष चोङबाङले जानकारी दिए। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट सर्भर, डिफेन्डर, ब्लकर, सटर, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार प्रदान गरिने छ। महोत्सवमा ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गरिएको छ।
महोत्सव स्थल वरपर रहेका फुङफुङगे झरना, गुराँसे पोखरी, तोक्पेगोला, लोदेन क्षेत्रसहितका पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन गरिने अध्यक्ष चोङबाङले बताएका छन्। यसका साथै तमोर नदीमा र्याफ्टिङसमेत गर्न पाइने छ। महोत्सवबाट धान नाच, पालम र हाक्पारेसहित मौलिक महत्व बोकेका सांस्कृतिक सम्पदाका प्रवद्र्धनमासमेत सघाउ पुग्ने उनको भनाइ छ। मेला अवधिभरमा विभिन्न गायक तथा कलाकारको प्रस्तुती रहनेछ।