धरान । सुनसरीको इटहरी–५ स्थित षडानन्द स्मृति प्रतिष्ठानले बालागुरु षडानन्दको १८९ औँ जन्मजयन्ती मनाएको छ ।
जन्मजयन्तीको अवसरमा आइतबार षडानन्द प्रधान पाठशालामा दीर्घ शिक्षण सेवा प्रदान गरेका देवीप्रसाद दाहाललाई नगदसहितले सम्मानित गरिएको छ । उनलाई पूर्वमन्त्री मुकुन्दबहादुर बस्नेतले सम्मान–पत्र र नगद राशि प्रदान गरेका थिए । सम्मान कार्यक्रमपश्चात् पूर्वमन्त्री बस्नेतले बालागुरु शिक्षा, धर्म, संस्कृति प्रकृति र पर्यावरणलगायत क्षेत्रमा बहुआयामिक विशिष्ट क्षेत्रमा महŒवपूर्ण योगदान गरेको बताए । उनले बालागुरुजस्ता शैक्षिक तथा समाज सुधार व्यक्तित्वको कुनै जात, भाषा, धर्म समुदाय नभई देशकै विभूति रहेको बताए । बालागुरुलाई हालसम्म सरकारले राष्ट्रिय विभूति घोषणा नगरेकोप्रति कटाक्ष गरेका थिए ।
कार्यक्रमका वक्ता प्रा.डा. बद्रीविशाल पोखरेले बालागुरुको समाज रूपान्तरणकारी भूमिका र योगदानलाई सबैले आ–आफ्नै जीवन र व्यवहारमा उतार्नुपर्ने बताए । शिक्षा र जनचेतनाको क्षेत्रमा बालागुरु षडानन्दले प्रमुख भूमिका खेलेका थिए । वि.सं. १९३२ भोजपुरको षडानन्दमा पहिलो संस्कृत पाठशाला स्थापना गरेका थिए । बालागुरुले चन्द्रशमशेरभन्दा पहिले नै दिङ्लामा सतीप्रथा बन्द गराउन महŒवपूर्ण भूमिका खेलेको आयोजकको दाबी छ । प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ पत्रकार कृष्ण अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच आबाल ब्रह्माचारी बालागुरु षडानन्द प्रतिष्ठान विराटनगरको आयोजनामा पनि जन्मजयन्ती मनाइएको छ । उक्त कार्यक्रममा शिक्षासेवी केदारप्रसाद गौतमलाई नगदसहितले सम्मानित गरिएको हो । उनलाई ११ हजार एक सय ११ रुपैयाँ नगद राशिसहित सम्मान–पत्र प्रदान गरियो । यस्तै समाजसेवी बद्रीप्रसाद पहाडीलाई दोसल्ला ओढाई सम्मानित गरिएको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, प्रतिष्ठानका अध्यक्ष कोमलकृष्ण अधिकारीलगायतले सम्मान–पत्र हस्तान्तरण गरे ।