धरान । पाँचथरको हिलिहाङ गाउँपालिका–३ का क्यान्सर पीडित सीता राईका लागि उठाएको रकम पीडितको छोराछोरीलाई हस्तान्तरण गरिएको छ ।

धरानस्थित होप धरानलगायत नौ वटा संस्थाले क्यान्सर पीडित राईका लागि एक लाख ६९ हजार सात सय रुपैयाँ रकम सङ्कलन गरे पनि उनको मृत्यु भएपछि उक्त रकम छोराछोरीलाई हस्तान्तरण गरिएको हो । उनको ७ वर्षीय छोरा पासाङ शेर्पा र १० वर्षीया छोरी फुटी शेर्पालाई नगद प्रदान गरिएको होप धरानले जनाएको छ । तीन वर्षअगाडि होप धरानलगायत नौवटा संस्था मिलेर एक लाख ४१ हजार रुपैयाँ सङ्कलन गरेको थियो ।

तर, रकम हस्तान्तरण गर्न नपाई नै पीडितको मृत्यु भएपछि सिभिल बैङ्कमा खाता खोली रकम जम्मा गरिएको थियो । तीन वर्षका लागि मुद्दती खातामा रकम जम्मा गरिएको थियो । हाल सो रकम ब्याजसहित गरी एक लाख ६९ हजार सात सय रुपैयाँ हस्तान्तरण गरिएको छ ।

धरान उपमहानगरका प्रमुख हर्क साम्पाङको हातबाट दुई नानीलाई ८४ हजार आठ सय ८९ रुपैयाँका दरले हस्तान्तरण गरिएको होप धरानका अध्यक्ष निश्चलमोहन पलिखेले जानाए । उनका अनुसार होप धरानसहित लायन्स क्लब धरान हेल्थ नेसन, महिला सञ्जाल, प्राइम लाइफ इन्स्योरेन्स, लोकलक्ष्मी स्मृति प्रतिष्ठान, याक्थुङ सिङ्गर फाउन्डेसन, लायन्स क्लब क्यालिबरलगायतले सहयोग रकम जुटाएका थिए ।

sahayog2

sahayog1