जनपथ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ राष्ट्रिय गानले भनेजस्तै व्यवहार गरिनुपर्ने विचार राखेका छन् ।

नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीले आइतबार ख्रीस्टमस, उँधौली तथा ल्होसार पर्वको अवसरमा शुभकामना आदान–प्रदान  कार्यक्रममा यस्तो विचार राखेका हुन् । उनले धर्मलाई केन्द्रविन्दुमा राखेर धेरै ठूला बहसहरू भइरहेको जनाउँदै उनले भने, ‘धर्म भनेको शान्ति हो, शान्तिको खोजी हो ।’ धर्म यो ठूलो कि त्यो ठूलो भन्ने विषयलाई लिएर मिथ्या बहस भइरहेको उनले बताए ।

आफू किराती कुलमा जन्मेको मान्छे भए पनि किरात धर्म कस्तो हुन्छ भन्ने थाहा नभएको साम्पाङले अभिव्यक्ति दिए । उनले आफू पास्टर नभएको पनि प्रष्ट्याए । धरानको गोपाल मन्दिरअगाडि चर्च बनेको विषयबाट आफूलाई सामाजिक सञ्जालमा एउटा वर्गले पास्टर भन्ने गरेको भन्दै नगर प्रमुख साम्पाङले आफूलाई ‘पास्टर’ भन्न छाडिदिन आग्रह गरेका छन् । नगर प्रमुख साम्पाङले व्यवस्था विरोधीहरूले सद्भाव भड्काउन लागेको आरोप लगाए ।

धरान ‘होमोजिनियस सिटी’ भएको भन्दै साम्पाङले सांस्कृतिक अन्तरघुलन र मेलमिलापका साथ बसेको धरानमा धार्मिक तथा जातीय सद्भाव भड्काउन खोज्ने को हुन् तिनीहरू ? भन्दै प्रश्न गरे । साम्पाङले बोल्दै नबोली काम गर्ने मान्छेका कारण देश बेचिँदै गएको आरोप लगाए । उनले भ्रष्टाचार, घोटाला चुपचाप हुने बताए । उनले एयरपोर्ट बनाउनुपर्छ भन्ने कुरामा पत्रकारिता क्षेत्रको कलम चल्नुपर्ने बताए ।

एयरपोर्टको विषयमा मन्त्रालयमा के भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा नगर प्रमुख साम्पाङले मन्त्रालयमा मन्त्रीहरूसमक्ष कुरा राखेको बताए । कार्यक्रममा उपप्रमुख अइन्द्रविक्रम बेघा, प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा. राजेन्द्र शर्मालगायत धार्मिक अगुवा, बुद्धिजीवीहरूले विचार राखेका थिए ।