भद्रपुर । भद्रपुरमा आगलागी हुँदा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । भद्रपुर नगरपालिका– ८ स्थित मेची क्याम्पसनजिकै बस्ने चूडामणि उप्रेतीको घरको माथिल्लो तलामा शनिबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उप्रेतीले घरको माथिल्लो तलामा पानीको ट्याङ्की राख्नलाई फलामको रड वेल्डिङ गर्ने क्रममा आगोको झिल्को लागेर निर्माणाधीन प्यानलको फर्मबाट बनेको दुईवटा कोठा जलेर नष्ट भएको छ । घरमा लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आधा घण्टाभित्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै भद्रपुर–६ स्थित खुश्वु टी स्टेटनजिकै खेतमा रहेको परालमा समेत आगलागी भएको छ । शनिबार दिउँसो १ बजेबाट लागेको आगो भद्रपुर र मेचीनगरको दमकलले नियन्त्रणमा लिएको जनाइएको छ ।