धरान । झापाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको शिवसताक्षी र हल्दीबारीमा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा मे.१ ह ५८०५ नम्बरको अटोले दुईवटा साइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो । साइकल चालक शिवसताक्षी–८ का ९ वर्षीया शीतल श्रेष्ठको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा ज्यान गएको हो । अटोले सोही स्थानका दिलिप श्रेष्ठको साइकललाई ठक्कर दिएको थियो ।

उक्त साइकलमा सवार ९ वर्षीया शीतलको उपचारको क्रममा निधन भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । यता दिलिपको टाउकोमा चोट लागेको छ । त्यस्तै अर्का साइकल यात्री निजकै छोरी ११ वर्षीया गोमा श्रेष्ठ पनि घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको छ । अन्यको सोही अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

आइतबार साँझको समयमा दुर्घटना भएको हो भने अटो चालक सोही ठाउँका ५२ वर्षीय पूर्णबहादुर भट्टराईलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ भने अटो चालकको पनि निधारमा सामान्य चोट लागेको छ । उनलाई दमकस्थित आम्दा अस्पतालमा चेकजाँचपछि नियन्त्रणमा लिइएको छ । चालकको लापरबाहीका कारणले दुर्घटना भएको हो ।

यस्तै झापाको हल्दिबारी गाउँपालिका–२ मा को.१ त ५०४६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । भद्रपुर– हल्दिबारी सडक–खण्डअन्तर्गत ट्याक्टरले ना.१७ प १०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सोही ठाउँका ४२ वर्षीय दिनेश राजवंशीको ज्यान गएको हो ।

गम्भीर घाइते भएका तत्कालै ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा लगिएकोमा थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । उनलाई शनिबार दिउँसो ट्याक्टरले ठक्कर दिएको थियो भने सोमबार दिउँसो साढे १२ बजेतिर घाइते उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर चालक भद्रपुर नगरपालिका–२ का २३ वर्षीय सविन जोगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।